काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक प्रतिशोधको गन्ध आएको बताए । मुद्दा दर्ताप्रति अध्यक्ष नेपालले नै आश्चर्य प्रकट गरेको र अदालतले न्याय दिनेमा विश्वस्त रहेको बताए ।
अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको भन्दै कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर ललिता निवास प्रकरणमा पन्छिएको र अहिले पुनः सोही प्रकृतिको मुद्दा दर्ता गरेको भन्दै अख्तियारले जवाफ दिनुपर्ने बताए ।
अध्यक्ष दाहालले भने, ‘माधवजीको विषयमा स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नुभएको छ । अदालतप्रति माधवजीले नै भरोसा छ, अदालतले न्याय गर्छ र छिटै सफाइ पाएर फर्किन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि पक्कै पनि उहाँमाथि अदालतले न्याय गर्छ भन्ने ठान्छु । तर प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले नै प्रधानमन्त्रीको बारेमा कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्राधिकार भन्दा बाहिरको कुरा भएकाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन जे गर्नुछ, क्याबिनेटले नै गरोस् भने चिठी लेखेको मैले आफैँले हेरेको छु । तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत नै निर्णय हो । जे गरेको भए पनि । त्यसैमा फेरि प्रवेश गरेकोले प्रश्न उठेको छ, सायद अख्तियारले जवाफ देला । यो स्टाब्लिस हुने हो भने हामीले भनेका छौँ, ०६४ देखि नै सबै प्रधानमन्त्री गृहमन्त्रीको छानबिन होस् भनेका छौँ । यसो हो भने कोही पनि छानबिनको दायराभित्र आउन सक्ने भयो । तर यो नीतिगत र सैद्धान्तिक रूपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक छ । ’
अध्यक्ष दाहालले नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्दै जाने हो भने कोही पनि प्रधानमन्त्री छानबिनको दायराभित्र आउने बताए । उनले नीतिगत र सैद्धान्तिक रूपले ठिक हो की होइन भन्ने बहस गर्न आवश्यक रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालसहित आरोपीहरूलाई पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबीसहित मुद्दा दर्ता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया