काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध केही दिनभित्रै हट्ने बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उनको भनाइ छ ।
भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आए संसद्को अवरोध हट्ने बताए । सत्तापक्ष छानबिन गर्न सहमत नै देखिएको तर छानबिन समिति बनाउने, पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिए ।
अध्यक्ष दाहालले भने, ‘अस्ति हामी बालुवाटारमा बसेपछि बिस्तारै वातावरण सहजीकरण गर्ने कोसिस भइरहेको छ । दिन प्रतिदिन थोरै थोरै भए पनि प्रगति भएको छ । छानबिन मुख्य कुरा हो । भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने प्रतिपक्षको कुरा भयो । यस बारेमा नेपाली कांग्रेसका सभापतिसँग एक पटक कुरा गर्न उचित हुन्छ भन्ने पनि भयो । भर्खरै फेरि सत्तापक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्यामजी लगायतसँग पनि कुरा भयो । आज सदन नचलाउने, सूचना टाँसेर जाने भन्नेमा सहमति भएको छ । मलाई लाग्छ, एक दुई दिनभित्रमा यो विषयमा सकारात्मक ल्याण्डिङ हुन्छ । सत्तापक्ष छानबिन गर्न सहमत नै देखिएको छ । छानबिन समिति बनाएर जाने, पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन गर्ने वा केही अर्को गर्ने भन्ने विषयमा सहमति भएको छैन । अर्को कुरा अख्तियारमा भिजिट भिसा प्रकरणमा छानबिन सुरु भएको हुनाले त्यसको कुरा विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको छ । यो विषय पनि छलफलमै छ ।’
अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानबिन सुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया