‘हिमालय क्षेत्रका साझा समस्या समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक’

लोकपथ
70
Shares

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको प्रतिकुल असरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ले महत्त्वपूर्ण भूमिका खेल्ने सांसदहरूले विश्वास व्यक्त गरेका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले यस्तो विश्वास व्यक्त गरेका हुन् ।  सम्मेलन समयानुकूल रहेका उल्लेख गर्दै उनीहरूले स्थानीय तह र प्रत्यक्ष प्रभावित समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले हिन्दकुश हिमालय क्षेत्रमा रहेका आठ राष्ट्रहरूको साझा चासोलाई अन्तर्राष्ट्रिय समुदायसम्म सम्मेलन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । 

उनले हिमाल र हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकले भोगिरहेको समस्याको विषयमा विश्वको ध्यानाकर्षण गराउनुपर्ने बताए । हिमालको समस्या समाधान कुनै पनि देशको एकल प्रयासबाट सम्भव नरहेको उल्लेख गर्दै हिन्दकुश हिमालय क्षेत्रमा रहेका देशहरूबिच सहकार्य र समन्वयको खाँचो रहेको समेत उल्लेख गरे । 

उनले भने, ‘जलवायु परिवर्तनको कारण हिमालमा परेको असर र हामीले भोग्नुपरेको क्षति तथा हिमाल अवस्थित रहेको हिमाल र भुटानले भोगिरहेको समस्यालाई कसरी अन्तर्राष्ट्रियता पुर्‍याउने भन्ने विषय महत्त्वपूर्ण हो । हिन्दकुश हिमालय रिजनमा रहेका आठ वटा राष्ट्रहरूले विश्व समुदायमा आफ्नो आवाज ऐक्यबद्धताका साथ उठाउने प्रतिबद्धताका साथ हामीले यो सम्मेलन गर्नुपरेको हो ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरूले सम्मेलनमा हुने सहभागिता, व्यवस्थापन, छलफलका विषयवस्तुलगायत बारेमा जिज्ञासा राखेका छन् । समितिले आगामी साउन २ र ३ गते उक्त सम्मेलन गर्न लागेको हो । सम्मेलनमा जलवायु विपद् र प्रदूषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकूलनसम्बन्धी अनुभव आदानप्रदान हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?