काठमाडौं । अनलाइन सपिङ प्लेटफर्मको नेपालस्थित कम्पनी दराजले छुटको नाममा झूटको व्यापार गरेको पाइएको छ । दराजले मिड एयर सेल ६.६ मा मूल्य बढाएर प्रतिशतमा छुट दिएको पाइएको हो ।
दराजले मिड एयर सेलका नाममा जुन ६ तारिखमा ८० प्रतिशतसम्म छुट दिने घोषणा गरेको थियो । केही सामानहरूमा ८० प्रतिशतसम्म छुट दिने र विभिन्न भौचर कुपन तथा आकर्षक डिस्काउन्ट दिने भन्दै विज्ञापन गरेको थियो ।
शुक्रबार बिहान १२ बज्ने बित्तिकै सुरु भएको मिड एयर सेलमा दराजले छुटको अफर भन्दै हालेको विज्ञापनमा झुट मात्रै पाइएको छ । दराजले विक्रीका लागि राखेका सबैजसो सामानमा वास्तविक मूल्य बढाएर छुट दिएको जस्तो मात्रै देखाएको पाइएको छ ।
उदाहरणका लागि दराजले विक्रीका लागि राखेको अल्टिमा स्मार्ट वाच सर्कल २ को छुटअघिको मूल्य भनेर ५,९९९ कायम गरिएको छ । त्यसमा ३४ प्रतिशतको छुट दिएको भन्दै ३,९४९ रुपैयाँमा विक्रीमा राखिएको छ ।

जबकि अल्टिमाको उक्त स्मार्ट वाच बाहिर बजारमै ३,७०० रुपैयाँमा उपलब्ध छ । अल्टिमा आफैँले कायम गरेको मूल्य पनि उक्त स्मार्ट वाचका लागि ३,८०० रुपैयाँ छ भने ५ पिसभन्दा धेरै किनेमा थप छुट पाइने उल्लेख छ ।

तर दराजले भने उक्त स्मार्टवाचको वास्तविक मूल्य ५,९९९ देखाएर ३४ प्रतिशत छुट भन्दै ३,९४९ रुपैयाँ र त्यसमा डेलिभरी शुल्क समेत जोडेर विक्रीका लागि राखेको छ ।
दराजले मेघा डिल भन्दै राखेको अर्को एउटा सामानको उदाहरण पनि हेरौँ ।
दराजले मेघा डिल भन्दै राखेको फिलिप्सको १५०० वाट क्षमताको एयर फ्रायरको वास्तविक मूल्य पनि फरक फरक राखिएको छ । डिटी भन्ने विक्रेताले विक्रीका लागि राखेको उक्त एयर फ्रायरको वास्तविक मूल्य २८,४०० रुपैयाँ रहेको र त्यसमा ५१ प्रतिशत छुट दिई १३,९९९ रुपैयाँमा राखिएको भनिएको छ । जबकि न २८,४०० रुपैयाँमा ५१ प्रतिशत छुट दिँदा १३,९९९ हुन्छ न त उक्त एयर फ्रायरको वास्तविक मूल्य नै २८,४०० हो ।

दराजमै मेघा डिलमै राखिएको सोही एयर फ्राइरको एमआरपी मूल्यलाई कहीँ १९,५५५ रुपैयाँ भनिएको छ भने कहीँ, २६,३०० भनिएको छ । अनि कहीँ चाहिँ १४,९९९ रुपैयाँ भनिएको छ ।

२६,३०० एमआरपी राख्ने आकाश एण्ड प्रियंका सप्लायर्सले ४३ प्रतिशत छुट भनी १४,९९० मा विक्रीमा राखेका छन् भने, १९,५५५ एमआरपी राख्ने नियर मि स्टोरले २१ प्रतिशत छुट भन्दै १५,४४८ मा विक्रीमा राखेका छन् ।

दराजमै ६.६ सेलमा स्याकार कम्पनीले विक्रीमा राखेको सोही क्षमताको एयर फ्रायरलाई १४,९९९ एमआरपी कायम गरी १४ प्रतिशत छुटमा १२,८९९ मा विक्रीका लागि राखेका छन् ।

तर बजारमा फिलिप्स कम्पनीको उक्त एयर फ्रायर भने ११ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँको बिचमा खरिद विक्री भइरहेको छ ।
दराजमा यस्ता धेरै उदाहरण छन्, जहाँ छुटको नाममा झूट राखेर ग्राहकको ठगी भइरहेको छ ।

दराजमा कतिसम्मको ठगी छ भने बजारमा प्रति १० ग्राम १,७७९ रुपैयाँमा पाइने चाँदी समेत प्रति १० ग्राम २,२०० रुपैयाँमा विक्री भइरहेको छ । जुन ६ अर्थात् जेठ २३ गतेको बजार मूल्य अनुसार चाँदी प्रति १० ग्राम १,७७९ रुपैयाँ कायम छ । तर गणपति ज्वेलर्सका नामबाट विक्रीका लागि राखिएको १ सय ग्राम चाँदीको मूल्य २२ हजार राखिएको छ । तर बजारमा भने ६.६ को मेघा डिल र अफर भन्दै राखिएको छ, जुन सरासर ठगी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया