तरुण दलमा बढ्यो असन्तुष्टि, असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गर्दै

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्यहरुले वर्तमान कार्यसमिति भंग गर्नुपर्ने माग राखेका छन् ।

पटकपटक वर्तमान कार्यसमितिको म्याद थप गर्दा समेत अधिवेशन गराउन नसकेको भन्दै बहुमत सदस्यहरुले भंग गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

तरुण दलको अध्यक्षमा विद्धान गुरुङ रहेका छन् भने उनले ४ सय जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । ६ महिनाभित्र महाधिवेशन गर्नका लागि समय दिइएको भए पनि तीन वर्षसम्म समेत महाधिवेशन गरी नयाँ कार्यसमिति बनाउन नसकिएको भन्दै असन्तुष्टिहरु बढिरहेको छ ।

त्यसो त असन्तुष्ट पक्षहरुले आज पत्रकार सम्मेलन गर्दै त्यसविरुद्ध थप धारणा बनाउन लागेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले भनेका छन्, ‘तदर्थ समितिको मूल उद्धेश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी कन्द्रीय सदस्यहरुले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागरहनु भयो । अहिले भैरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो। कहिले अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराउनु भयो । तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस् वा भत्काउँदा केन्द्रीय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुँदैछ, को–को केन्द्रीय प्रतिनिधि तोकिँदैछ केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन ।’

उनीहरुले अगाडि भनेका छन्, ‘यसैको परिणाम आज तीन वर्षसम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी बस्न परिरहेको छ। तदर्थ समितको समय अवधि सामान्यतया छ महिनादेखि एक वर्ष सम्मको हुने प्रचलन छ । यसरी हेर्दा हाम्रो तीनदेखि छ पटक म्याद थपिएको बुझ्न सकिन्छ । छ( छ पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने त्यही नेतृत्व र त्यही प्रवृत्तिले फेरि महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने न हामी न कसैको नैतिक धरातल छ। न त नेतृत्वमा त्यो विस्वास छ । त्यसैले नेपाली कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितको माग गर्दछौँ । फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाँडो बनाउने विषयको विपक्षमा हामी बहुसंख्यक केन्द्रीय सदस्हरु रहेको जानकारी गराउँदछौँ।’

पत्रकार सम्मेलन आज दिउँसो १ बजे कांग्रेस मुख्यालय सानेपामा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?