काठमाडौं । सप्तकोसी नदीमा बेपत्ता भएका सशस्त्रका गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरु भएको छ । बिहीबार उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सप्तकोसी नदीमा बेपत्ता भएका थिए ।
बिहीबार सशस्त्र प्रहरी बलको ६ नम्बर गण (सप्तरी) र ७ नम्बर गण (सिरहा) को संयुक्त टोलीले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारी अभ्यास (सिमुलेसन) गर्न सप्तकोसी नदीमा उत्रिएको थियो । अभ्यासकै क्रममा सशस्त्र प्रहरीका दुई जवान बिहीबार बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो ३ः१० बजे मनसुनको समयमा आउन सक्ने बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूको उद्धारका लागि पूर्व प्रशिक्षण गर्दै गर्दा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर नदीको तीव्र बहावमा फसेर बेपत्ता भएका थिए । बेपत्ता भएकामा सशस्त्र प्रहरी बल, दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा कार्यरत हरदेव राजवंशी र २ नम्बर छिन्नमस्ता बाहिनी, पर्सामा कार्यरत प्रहरी जवान सुरज साउद रहेका छन् ।

उनीहरूले २०८० र २०८१ सालमा गोताखोर तालिम लिइसकेका थिए भने यसअघि पनि विभिन्न उद्धारमा सहभागी भइसकेका थिए । घटनापछि सुरक्षा अङ्गहरूले तत्काल खोजी अभियान सुरु गरेका थिए । बिहीबार अबेरसम्म खोजी गरेका उनीहरूले शुक्रबार बिहानैबाट विशेष खोजी अभियान सुरु गरेका छन् । दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपी विजय हमालको नेतृत्वमा ४ जना गोताखोर र ३५ जना सुरक्षाकर्मी तथा ६ नम्बर गण सप्तरीबाट डिएसपी विपिन देशारको कमान्डमा २० जना सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य सुरु गरिएको हो ।
त्यस्तै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट अनुभवी गोताखोर प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा ५ जना गोताखोरको टोली बिहीबार राति नै घटनास्थल पुगेका छन् । डिएसपी भण्डारीले घटनास्थलको अवस्था, पानीको बहाव र अन्य कारकहरू अध्ययन गरी खोजी कार्य अगाडि बढाउने बताएका थिए ।
भण्डारी २०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिइसकेका अनुभवी प्रशिक्षक हुन् र नेपालमा सञ्चालित गोताखोर तालिमका प्रमुख प्रशिक्षक समेत हुन् ।
उनकै कमान्डमा शुक्रबार बिहानैबाट खोजी कार्य सुरु गरिएको हो । स्थानीय प्रशासन र सुरक्षा निकायसमेत खोजीमा बेपत्ता गोताखोरको खोजीका लागि स्थानीय प्रशासन, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन निकायहरूको संयुक्त टोली समेत परिचालित भएको छ । खोजी टोलीले नदीको विभिन्न भागहरूमा खोजी जारी राखेको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्रले मनसुन अगाडि गराउँछ यस्ता अभ्यास सशस्त्र प्रहरीले मनसुनजन्य विपद् अर्थात् बाढी, पहिरोको उद्धारका लागि पूर्व प्रशिक्षणको रूपमा गराइन्छ । यस प्रकारका अभ्यासहरू देशभर विभिन्न स्थानहरूमा गरिँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया