सप्तरीमा डाँका समूहको आक्रमण, प्रतिकार गर्ने एक जनाको हत्या

लोकपथ
609
Shares

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका–८ स्थित मल्हनवामा शुक्रबार बिहान डाँका समूहको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार ५० वर्षीय कान्तालाल चौधरीको आफ्नै घरमा डाँकाहरूले गोली प्रहार गरी हत्या गरेका हुन् । मृतकका भाइ रामाकान्त चौधरी घाइते छन्, र उनको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

४-५ जनाको सशस्त्र डाँका समूहले चौधरीको घरमा जबरजस्ती प्रवेश गरी लुटपाट सुरु गरेपछि घरधनीले प्रतिकार गरेका थिए। प्रतिकार गर्ने क्रममा डाँकाहरूले पहिले धारिलो हतियारले प्रहार गरेपछि पछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । 

डाँका समूहले घरबाट ५ तोला सुन, २ केजी चाँदी र करिब ५०–६० हजार रुपैयाँ नगद लुटेर फरार भएको स्थानीयले जानकारी दिएका छन् । घरमा भइरहेको हल्ला सुनेर आएका कान्तालालका भाइ रामाकान्तमाथि पनि डाँकाहरूले टाउको र ढाडमा हतियारले प्रहार गरेका थिए।

प्रहरीले घटनास्थलबाट ३ राउन्ड नपड्किएको गोली र १ राउन्ड गोलीको खोका बरामद गरेको छ। हाल प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?