काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरूलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई भोज खुवाएर पुनः चुनाव जित्ने र फेरि सरकारमा आएर भ्रष्टाचार गर्ने काम भइरहेको बताए ।
उनले नेपालको सार्वजनिक ऋण २७ खर्ब पुगेको भन्दै नेपालीलाई ऋण बोकाएर घ्यु भात खानेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए ।
सांसद सुवालले भने, ‘सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने । विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण २७ खर्ब पुग्यो । यसरी नेपालीलाई ऋण बोकाएर घ्यु भात खाने कोको हुन् ? सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ । गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भुटानी शरणार्थी, जहाँ जहाँ जसले पैसा खाएको छ नेपाली जनताले अब यसरी नै नाङ्घेझार बनाउनु पर्छ । भ्रष्टाचार जहाँ निर्णय भए पनि कारबाही हुनुपर्छ ।’ सांसद सुवालले भ्रष्टाचारीलाई कुनै हालतमा छोड्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया