काठमाडौं । लामो रस्साकस्सीपछि प्रतिनिधि सभा बैठक केहीबेर बसेर स्थगित भएको छ ।
मंगलबारदेखि नै प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भए पनि बैठक भने बस्न सकेको थिएन । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अडान कायम राखेपछि सभामुखले संसदको अवरोध हटाउने प्रयास गरेका थिए ।
झण्डै साढे ६ बजे बैठक सुरु भए पनि विपक्षीहरुको विरोधका कारण शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
आज प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएका थिए ।
सरकारले आगामी आर्थिक वर्षका लागि गत जेठ १५ गते बजेट ल्याएको थियो । उक्त बजेटमाथि छलफल हुनुपर्नेमा विपक्षीहरुको विरोधका कारण बैठक बस्न सकिरहेको छैन ।
आज थोरै समय बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथि छलफल गर्ने वातावरण तयार गर्न आग्रह गरेका थिए । साथै विभिन्न विधेयकहरुलाई कानुनी रुप दिन नसकिएको भन्दै बैठक निर्वाध रुपमा चल्ने वातावरण बनाउन आग्रह गरे । तर विपक्षीहरुले निरन्तर विरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया