पूर्वप्रधानमन्त्री नेपालको प्रष्टीकरण : पतन्जलि प्रकरणमा मैले कुनै बदमासी गरेको छैन 

लोकपथ
1.4k
Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई बिहीबार प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपालको यस्तो भनाइ आएको हो । 

अख्तियारले मुद्धा दायर गर्दा गृहजिल्ला रौतहटमा रहेका नेपालले त्यहाँ पत्रकार सम्मेलन गरी भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’

आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरे । उनले भने, ‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ ।’

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्य ९२ जनाको हकमा भने बिगो रकम फरक फरक छ ।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?