उषा शेरचनको जीवन, लेखन र अस्तित्वको यात्रा

काठमाडौं । छिप्पिँदै गएको एक साँझ । सानेपाबाट बखुन्डोल लाग्दै गर्दा भेटिने बगैँचासहितको घर । टेबुलमाथि केही थान किताबसहित पर्खिरहेकी उषा शेरचन । नेपाली साहित्यमा चार दशकभन्दा बढी समयदेखि निर्बाध क्रियाशील शेरचन, जसले शब्दहरूलाई केवल शिल्पका रूपमा मात्रै लेखिनन् । उनले आफ्नो लेखन मार्फत समाजलाई एउटा फरक दृष्टिकोण दिइन् । 

‘लेखिरहेकी छु… किनभने म बाँचिरहेकी छु ।’ शेरचनको यो एक वाक्यमा जीवनको दर्शन छ, विद्रोहको स्वर छ र स्त्री चेतनाको आत्मघोषणा । नेपाली साहित्यमा नारी आवाजलाई सशक्त बनाउने यो नाम केवल एक सर्जक होइन, समयलाई आफूअनुसार हिँडाएर अरू छोरीहरूका लागि लेखनमा मार्ग खोल्ने उनी एक पथप्रदर्शक पनि हुन् । 

स्त्री भएर लेख्नु – विद्रोहको पहिलो पंक्ति

पञ्चायतकालको समाज । कलम बोकेकी छोरीलाई हेर्ने आँखामा शंका थियो । उनीहरूको वाणी त समाजका लागि स्वीकार्य नै थिएन । छोरीका ओठमा ताल्चा मार्न चाहन्थ्यो समाज । केही छोरीहरू स्कुल जान्थे तर उनीहरूमाथि पत्रिका, साहित्यिक पुस्तक पढ्न बन्देज लगाइन्थ्यो । 

हो, त्यही समय शेरचनले भने त्यो बन्देजको ढोका खोल्ने आँट गरिन् । कोर्षका किताबका अक्षर भन्दा बाहिर मन डुलाइन् । कवितामा उतारिन् । ‘पहिलो कविता लेख्दा भित्र कतै डर थियो,’ शेरचन सम्झना गर्छिन्, ‘तर त्यो डरभन्दा बलियो थियो व्यक्त हुने आवेग ।’ 

‘पहिलो कविता लेख्दा भित्र कतै डर थियो,’ शेरचन सम्झना गर्छिन्, ‘तर त्यो डरभन्दा बलियो थियो व्यक्त हुने आवेग

लेखन यात्राका कारण धेरैका धेरै खाले प्रश्नका सामना गर्नु पर्‍यो । आमाको गाली, बुवाको डर मनमा बोकेर पनि लेखिहिँड्ने शेरचनलाई जो उनलाई प्रश्न गर्थे, त्यो उनीहरूकै कमजोरी हो भन्ने लाग्यो । 

उनका सिर्जना यौन, देह, मातृत्व, पिँजडा, र उडानका प्रतीकहरू हुन् । ‘छोरी भएर बोल्नु हुँदैन भन्ने समाजमा लेख्न सजिलो थिएन,’ उषा भन्छिन्, ‘लेखन मेरो विद्रोहको पहिलो पंक्ति थियो ।’

कविता सिर्जना गर्ने माहौल भने उनको घरभित्रै थियो । उनका बुवाले कविता पढ्थे, गीत गाइदिन्थे, आमाको हृदयभरि कथा थिए । छोराछोरीलाई दन्तेकथा सुनाएर मन्त्रमुग्ध पार्थिन् । यो पारिवारिक वातावरण नै उनको संवेदनाको पहिलो पाठशाला बन्यो ।

साहित्य घरमा जति सुन्दर थियो, उनी आफैँले लेख्न थालेपछि भनेर सुन्दर हुन् सकेन । परिवारभित्र भन्दा सुन्दर लाग्ने कथा र कवितामाथि उनले लेख्न र वाचन गर्न थालेपछि भने प्रश्न गरियो ।  लेखनको बाटो सहज पटक्कै थिएन । असजिलो बाटो हिँड्न हिम्मत चाहिन्थ्यो । उनले त्यो आँट गरिन् । पछि धेरै छोरीहरू उनले देखाएको यही बाटोमा हिँड्न थाले । 

कविता लेख्ने बालिका – पोखराबाट सुरु भएको यात्रा

वि.सं. २०१२ साल भदौ ६ गते पोखरामा जन्मिएकी उषाले २०३५ सालबाट लेख्न थालेकी हुन् । त्यतिबेला गोरखापत्रमा छापिएको पहिलो कविता ‘जिन्दगी’ प्रकाशन हुँदा जिन्दगी बुझ्ने उषाको चेतना त्यति फराकिलो भएकै थिएन । 

कविता लेख्न थालेको लामो समय उनले आफ्ना कविता डायरीमै थन्काएर राखिन् । ‘अरूलाई देखाउन डर लाग्थ्यो,’ उषा पुराना दिन सम्झिँदै भन्छिन्, ‘चेतना हुनु भनेको दुख्नु पनि रहेछ ।’

उनी जन्मिएको थकाली समुदाय पाककला र व्यवसायमा निपुर्ण मानिन्थ्यो । छोरीहरू लेखन, बाहिरी दुनियाँका बारेमा खासै चासो राख्दैनथे । अन्य समुदाय हेरिकन उनको समुदाय केही उदार भने थियो । त्यही उदारताले हो उनलाई सपना देख्न सिकाएको पनि ।

उषाको समयमा स्कुल जाने छोरीचेली असाध्यै कम हुन्थे । भएका पनि एसएलसी सकिँदा नसकिँदै विवाह गरेर घर गइसक्थे । कलेज जाने त विरलै हुन्थे ! १५–१६ मा टेक्दा उनीहरूको विवाह भइसक्थ्यो भने कोही कोही त आमा पनि । ठीक त्यही समय २३–२४ वर्षसम्म छोरीको विवाह नगरी बस्दा साहित्यकार उषा शेरचनका बुवा आमाले यो समाजको कति प्रश्नको जवाफ दिनु पर्‍यो थाहा छैन ।

नेपालको अन्य समुदायको भन्दा अलि फरक सोच थियो थकाली समुदायको । थकाली समुदाय मातृसत्ता भएको समुदाय हो । मुस्ताङको थाकखोला छोडेर पोखरा आएपछि उनका पुर्खाहरूले पनि त्यहीँको समुदायको संस्कार अपनाए । थकाली समुदायलाई पनि पितृसत्ताले गाँज्यो । 

एसएलसी सक्दा उनका साथी सबै घरजम गरेर बसिसकेका थिए । तर, अध्ययन र लेखनमा विशेष रुचि राख्ने उषाले तत्काल विवाह गर्न मानिनन् । त्यो बेलाका बडाहाकिम धनशमशेर राणा उनका हजुरबुवाका मित्रजस्तै थिए । संगीत कला अनि पाककलामा निपुर्ण हजुरबुवाको आफ्नै व्यापार व्यवसाय थियो । यति भएर पनि उनी असाध्यै शिक्षा प्रेमी थिए ।

हजुरबुवाको गुण बुवामा पनि सरेकाले उषाको अध्ययन रोकिएन । २३ वर्षको उमेरमा पोखराबाटै बिएसम्मको अध्ययन सकिन् । 

त्यो समयसम्म उनी उषा भट्टचनको नामले लेखनमा चर्चित भइसकेकी थिइन् । त्यतिबेला लेखनमा महिला साहित्यकारहरू उसै पनि असाध्यै कम थिए । त्यसमाथि थकाली समुदाय त छँदै थिएन भन्दा पनि हुन्छ । 

त्यसो त उनले जिन्दगी शीर्षकको कविता लेख्दा जिन्दगीलाई बुझेकी नै पो कति थिइन् र ? उषा भन्छिन्, ‘अहिले जसरी विहङ्गम हिसाबले त कहाँ बुझ्नु र ? त्यसबेला देखेको जिन्दगीको दायरा साह्रै साँघुरो थियो ।’ 

उनको लेखनमा नारी चेतना, सामाजिक यथार्थ, मानवीय संवेदना र समकालीन विषयवस्तुहरू प्रमुख रूपमा देखिन्छन् । उनले आफ्ना कृतिहरूमा समाजमा व्याप्त कुरीति, विसङ्गति, मानवीय सम्बन्धका जटिलता र मानसिक अवस्थाका विविध पक्षहरूलाई उजागर गरेकी छन् । उनका कथा र कविताहरूले पाठकलाई गहिरो सोचमा डुबाउने गर्छन् ।

उनको तेस्रो रंग कथा संग्रहमा समलैंगिक पात्रलाई प्रस्तुत गर्दा उनले नेपाली साहित्यमा नयाँ बहसको विषय प्रस्तुत गरेकी थिइन् । यसले नेपाली समाजमा लैंङ्गिक विविधता र यौनिक पहिचानजस्ता विषयहरूमा विमर्श सुरु गर्‍यो ।

समाजका यस्तै विविध विषयमाथि निरन्तर लेखिरहेकी शेरचनले भर्खरै मात्र ‘त्रासदीका हिम नदी’ नामको मुक्तक संग्रह सार्वजनिक गरेकी छिन् । मुक्तक लेखनमा विशेष दक्खल राख्ने शेरचन यही मुक्तक संग्रह आफ्नो जीवन कालको अन्तिम मुक्तक संग्रह भएको बताउँछिन् । 

उनी केही कथा, कविता र उपन्यासको काममा छिन् । ‘सम्भवतः अब यी सबै मेरो अन्तिम कृति हुन्,’ शेरचन भन्छिन्, ‘नयाँलाई पुरानाले ठाउँ छोड्दै जानु पर्छ ।’

शेरचनले नेपाली साहित्यमा नारीका निम्ति ‘आवाज’ मात्रै होइन, ‘स्थान’ निर्माण गरिन् । उनी आफैँ एउटा आन्दोलन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?