काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौंमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ । ‘बिटिंग द प्लास्टिक’ नारामा केन्द्रित प्रदर्शनीमा सुशीला कला प्रतिष्ठानका विभिन्न उमेर समूहका ६० जना विद्यार्थी कलाकारका रचनात्मक चित्रहरू राखिएको छ ।

वातावरणीय चुनौतीहरू मध्येको प्लास्टिक प्रदूषणले पारेको असरमा चित्रहरू केन्द्रित छन् । विश्व ताममान वृद्धि हुँदै गर्दा हिमालमा परेका असरदेखि हिमाल आरोहीले प्रयोग गरेका प्लास्टिकजन्य फोहोरले हिमाल र उच्च हिमाली क्षेत्रमा पाइने याकमा परेको असरलाई चित्रमार्फत देखाइएको छ ।
एकेडेमीकी प्रशिक्षक विपना महर्जनले प्रदर्शनीमा रहेका चित्रहरूले दर्शकलाई प्लास्टिकजन्य फोहोरको प्रयोग बढ्दै जाँदा वातावरण र मानव स्वास्थ्यमा पर्ने असर देखाएर दिगो व्यवस्थापन र रचनात्मक भूमिका निर्माणमा उत्प्रेरण प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘हाम्रो वातावरणमा प्लास्टिकले कस्तो असर गरेको छ ? हिमाल चढ्ने मान्छेहरूले गरेको फोहरले हिमाल मात्रै नभई त्यस क्षेत्रका याक लगायतमा असर गरेको भन्दै त्यसो नगरौँ भन्ने सन्देश चित्रहरूले दिएका छन् । हिमाल पग्लिँदै गएकोदेखि याकहरूलाई परेको प्रभाव समेत यहाँका चित्रहरूमा समेटिएको छ ।’

.प्रदर्शनीको मुख्य आकर्षक बनेको थियो हिमालको याकको चित्रकला । खेर गएको काठको फ्रेममा याक सहित बनाइएको चित्रकलाले सबैको ध्यानाकर्षण गरेको थियो । जहाँ हिमाली क्षेत्रमा हिमाल आरोहीले फालेका प्लास्टिकले याकसहित हिमाली क्षेत्रमा पारेको असर देखाइएको थियो । त्यसै गरी मानव स्वास्थ्यमा प्लास्टिकले पारेको प्रभाव, विश्व तापमान बढ्दै जाँदा हिमालहरूमा परेको असर लगायत प्रभाव झल्किने तस्बिरहरू पनि प्रदर्शनीमा राखिएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्षको जुन ५ मा वातावरण दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया