काठमाडौं । विगत केही हप्तादेखिको विवादका कारण प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध भइरहेको छ ।
जेठको पहिलो साता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्ने आरोपपछि विपक्षीहरुले निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका हुन् ।
गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत भएपछिका दिनहरुमा भने विपक्षीहरुले बैठक बस्न दिएका छैनन् । विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामा, भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय संसदीय छानबिन समितिको माग गरिरहेका छन् ।
त्यसो त मंगलबार, बुधबार दुवै दिन बैठक बोलाइए पनि पटकपटक बैठक स्थगित गरियो र अन्तमा सूचना टाँस गरेर बैठक नै सारिएको थियो । त्यसो त आज दिउँसो १ बजेका लागि पुनः बैठक आह्वान गरिएको छ । तर विपक्षीहरु आफ्नो मागबाट टसमस भएका छैनन् ।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग पटकपटक छलफल गरेका छन् । तर विपक्षीहरुले आफ्नो पूर्ववर्ती माग अनुसारको अडान कायम राख्दा बैठक बस्न सकेन ।
यता सत्तारुढ दलहरु नेकपा एमाले तथा नेपाली कांग्रेसले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै दोष नभएको भन्दै राजीनामा दिनु नपर्ने बताउँदै आइरहेको छ । आज पनि विपक्षीहरुले आफ्नो अडानलाई कायम राख्न सक्ने भन्दै सभामुख घिमिरेले सत्तारुढ र विपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया