काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ । प्रतिनिधि सभाको आज अपराह्न १ः०० बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको माग राख्दै संसद् अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूचीमा प्रवेश गर्न पाउनेमा आशङ्का भने कायमै छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया