काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संसद् गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको आरोप लगाएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले यस्तो आरोप लगाएका हुन् ।
संसद् मुलुक र जनताको मुद्दाभन्दा उरन्ठेउला कुरामा झगडा गर्नमा सीमित रहेको उनको भनाइ छ ।
उनले संसद्का जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भएको टिप्पणी गरे । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने बताए । कुनै पनि व्यक्तिमाथि आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्नुपर्ने दायित्व समेत सम्बन्धित मिडिया र व्यक्तिमा निहित हुने उनको भनाइ छ ।
उनले भने, ‘हामीले कस्ता कुरा संसद्मा उठाउने, कस्ता कुरालाई संसद्मा महत्त्व दिने भन्ने कुरा नै हामीसँग भएन । हाम्रो संसद् त मुलुकको र जनताको विषयभन्दा उरन्ठेउला कुरामा झगडा गर्नमा रह्यो । त्यस कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भयो भन्ने कुरा मलाई लाग्छ । कुनै पनि केस प्रमाणित हुनुपर्छ । कुनै मिडिया र व्यक्तिले आरोप लगायो वा प्रश्न उठायो भने त्यो प्रश्नलाई प्रमाणित गर्नुपर्छ । जस्टिफाई नगरीकन हामीले कुरा उठाउनु हुँदैन जुन अहिलेसम्म देखिएको छ ।’
संसद्को गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा डा. भण्डारीको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया