काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरूले अघि सारेका मागहरू कुनै पनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गरेका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गृहमन्त्रीले सार्वजनिक रूपमा उठेका प्रश्नहरूको संसद्मा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरूले अवसर नदिएको भन्दै आपत्ति जनाए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनै पनि छानबिन समिति नबन्ने जिकिर गरे । संवैधानिक आयोगभन्दा ठूलो कुनै पनि छानबिन समिति हुन नसक्ने उनको भनाइ छ । बर्तौलाले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने उल्लेख गर्दै प्रतिपक्षीहरू पछि हटेर संसद्को गतिरोध खुलाउन भूमिका खेल्नुपर्ने बताए ।
उनले भने, ‘जबसम्म संवैधानिक आयोगले गरिरहेको छानबिनको प्रतिवेदन आउँदैन तबसम्म कुनै पनि समिति बन्ने स्थिति देखिँदैन । माननीय गृहमन्त्रीज्यूका बारेमा सार्वजनिक रूपमा कसैले प्रश्न गर्यो । त्यसको जवाफ संसदबाट दिन्छु भनेर उहाँले पटक पटक भनिरहनुभएको छ । त्यो अवसर अपोजिसनले दिइरहनुभएको छैन । गृहमन्त्रीको राजीनामा पनि हुने कुरा छैन । अहिले उहाँले भनेजस्तो कुनै समिति बन्ने कुरा पनि हुन सक्दैन । उहाँहरुले अघि सारेका मागबाट पछि हटेर संसद्को गतिरोध खुलाउन भूमिका खेल्नुपर्छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरूमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया