काठमाडौं । प्रतिनिधिसभा बैठक आज बुधबार बस्दै नबसी भोलि बिहीबार १ बजे गरी सूचना टाँस गरिएको छ । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर निर्धारित समयमा सुरु हुन नसकेपछि सूचना टाँस गरेर सवा ३ बजे बस्ने जनाइएको थियो ।
सो समयमा पनि बस्न नसकेपछि सूचना टाँस गरी भोलि अपराह्न १ बजे बस्ने जानकारी गराइएको हो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् । सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन । सत्तापक्षले सदनमा पहिले गृहमन्त्रीलाई बोल्न दिनुपर्ने भन्दै आएको छ । बाँकी विषयमा त्यसपछि छलफल गरिने बताउँदै आएको छ ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरू भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा छन् । आज दिउँसो सभामुख देवराज घिमिरेले बोलाएको बैठक पनि निष्कर्षविहीन भएको थियो ।
संसद् बैठक सहज रूपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गरेका थिए । छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकको राजीनामा आफूहरूको बटमलाइन भएको बताएका थिए । उनले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका थिए ।
विपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति नभएसम्म सदन सञ्चालनको वातावरण नबन्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया