रौतहटमा ट्रक र विद्युतीय गाडी ठक्कर खाँदा दुई जनाको मृत्यु, दुई घाइते 

लोकपथ
1.9k
Shares

काठमाडौं । रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक बुधबार एक आपसमा साइडपट्टी ठक्कर खाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । उनको छाती र दाहिने हातमा गम्भीर चोट लागेको थियो । 

प्रहरीका अनुसार दुर्घटनामा परी सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको पनि मृत्यु भएको छ । उनको पाखुरामा गम्भीर चोट लागेको थियो ।

 दुर्घटनामा १८ वर्षीय रानीकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन् । 

ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र सोकोन गाडीका चालक सर्लाही रामनगर– ३ का आकाश सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?