उडिजाऊँ भने म पन्छी हैन’ गीत ‘परालको आगो’मा समावेश गरिने 

निर्माण पक्षले गर्‍यो संगीतकारसँग सम्झौता 

लोकपथ
714
Shares

काठमाडौं । निर्माणाधीन फिल्म ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ । 

निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि अनुमति लिएको छ । सुशील पोखरेलको निर्माणमा बन्न लागेको फिल्म ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालको निवासमै पुगेर यस्तो सम्झौता भएको हो । 

चार दशकअघि निर्माण भएको फिल्म ‘परालकै आगो’को गीतलाई नयाँमा पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए । 

शान्ति ठटालको संगीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र स्व. अरुणा लामाको स्वर रहेको छ । यो कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ । 

परालको आगोका लागि यो गीत नै चाहिने हुनाले स्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले बताए । 

उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौतासमेत भएको छ । संगीतकार ठटालले आफूले यो गीत परालको आगोमा समावेश गर्न अनुमति दिएको बताएकी छन् । उनले भनिन्, ‘श्री ॐ सिने मेकर्स प्रालिबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा उल्लेखित शब्द र मैले कम्पोज गरेको संगीत ‘उडी जाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ पुनः निर्माणाधीन चलचित्र ‘परालको आगो’मा प्रयोग गर्न मेरो पूर्ण मन्जुरी छ । साथै चलचित्रको अपार सफलताको हार्दिक मंगलमय शुभकामना पनि दिन चाहन्छु ।’ 

आफ्नो गीत फिल्ममा समावेश हुँदा खुसी लागेको उनले बताइन् । 

कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’मा अभिनेताद्वय जितु नेपाल र प्रकाश सपुत, अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । केही साताअघि निर्माण टिमले उनीहरूलाई अनुबन्धित गरेको हो । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई फिल्ममा अनुबन्धित गरेकी हुन् । 

मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई फिल्म निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । उनले दर्जनौँ मल्टिस्टारलाई अभिनय गराएर त्यही मात्रामा सुपरहिट फिल्म दिएको ठूलो ब्यानर हरिओम सिने मेकर्स र ‘बुलाकी’ जस्तो दर्जनौँ अवार्ड विजेता निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन २०८२ सालको दसैँमा हुनेछ । 

यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए । निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागेको बताए ।

 निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने फिल्म फागुनदेखि छायांकनमा जाँदैछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैझगडालाई प्रस्तुत गरिएको छ । निर्माता पोखरेलले यसअघि फिल्महरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?