काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिस गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ब्रिटिस गोरखा र एनआरएनएहरूलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताए । उनले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिने कुरा सस्तो बनाउन नहुने उनको भनाइ छ ।
सभापति खतिवडाले भने, ‘हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन्, अन्य विदेशीहरूलाई खुला पनि नगरौँ । हामी सबैको चाहना पनि त्यही हो । त्यही धारणासाथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छौँ । हामी चाहे ब्रिटिस गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हौँ । उहाँहरुको समस्या समाधान गर्न पनि सरकार अघि बढोस् । त्यसलाई कसरी समाधान गर्न सकिन्छ, सरकारको एउटा धारणा आओस् ।’
बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । बिहीबारबाट दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया