काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरुको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन् ।
बुधबार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए ।
सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको थियो । उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट पारे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । संविधानका आधारभुत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न चेतावनी दिए ।
मन्त्री लेखकले भने, ‘अहिले पूर्वराजावादी संस्थाहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र संस्थाहरुले गरिरहेको घटनाहरुका बारेमा प्रश्न उठेको छ । मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ । यो संविधान हाम्रा पूर्वजहरुले धेरै त्याग, तपस्या, बलिदान, शाहदत दिएर र हजुर हाम्रो पुस्ताले धेरै ठूलो लगानी, मेहनत गरेर हामी यो ठाउँमा पुगेका छौँ । यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ । संविधानका आधारभुत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौँ । सरकारको धारणा यही हो । गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन । त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ । सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ति सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यि घटनाहरु भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ ।’
गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया