काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव र छुवाछूत जस्ता अमानवीय व्यवहारको अन्त्यका लागि समाजका सबै तहले दृढ प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अपमानजनक प्रथाविरुद्ध सबै क्षेत्रबाट एकजुट भएर उभिनु समयको माग भएको बताएका हुन्।
राष्ट्रपतिले जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध ठहर गर्दै देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्दै समावेशी समाज निर्माणमा लाग्न आग्रह गरे।
सन्देशमा राष्ट्रपति पौडेलले संविधानले विविधताबिचको एकता र सामाजिक सद्भावलाई संरक्षण गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट संकल्प व्यक्त गरेको स्मरण गराएका छन्।
उनले जातीय विभेदको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संस्था, नागरिक समाज र सञ्चारकर्मीहरूलाई अझ जिम्मेवार र संवेदनशील बन्न आह्वान गरेका छन्।
राष्ट्रपतिले सो दिवसले जातीय, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक आधारमा हुने विभेद र उत्पीडनको अन्त्यतर्फ प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वि.सं. २०६३ सालको जेठ २१ गते नेपाल सरकारले देशलाई ‘जातीय छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदै आएको छ।
राष्ट्रपतिले सोच, व्यवहार र सामाजिक प्रचलनमा सकारात्मक परिवर्तन ल्याउँदै छुवाछूतविहीन, समतामूलक र सुसंस्कृत समृद्ध राष्ट्र निर्माणमा सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया