काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुन नहुने उनको भनाइ छ । उनले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको बताइन् ।
उनले सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै वैश्वीकरणका अवसरहरूको सदुपयोग तथा चुनौतीहरूको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताइन् । विद्यालय तथा शैक्षिक संस्थाहरूमा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने गरी शिक्षामा लगानी बढाउनुपर्नेमा उनको जोड छ ।
उनले भनिन्, ‘शिक्षा एउटा ज्ञान आर्जनको माध्यम मात्र होइन । यो एउटा समुन्नत राष्ट्र निर्माणको लागि महत्त्वपूर्ण आधार हो । कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ । अतः हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने, शिक्षित व्यक्तिको उत्पादनमा रहनु हुँदैन । परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्तरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार तयार पार्ने हुनुपर्दछ । सूचना तथा सञ्चार, प्रविधि र यातायातको तीव्र विकासको कारण आजको विश्व एउटा गाउँजस्तै बन्न पुगेको छ । विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोकाहरू खोलिरहेको छ भने अर्कातिर केही चुनौतीहरू पनि थपिएका छन् । प्राप्त अवसरहरूको प्रभावकारी उपयोग गर्न र चुनौतीहरूको सामना गर्नको लागि हामीले हाम्रा बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ । यसका लागि हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युवाअनुकुल सुधार गर्नु अपरिहार्य भइरहेको छ । शिक्षामा लगानी बढाएर शिक्षाको पवित्र मन्दिर विद्यालय तथा शैक्षिक केन्द्रहरूको पठनपाठनलाई कतैबाट कुनै पनि बहानामा अवरोध पुर्याउनु हुँदैन ।’
नेपाल प्राकृतिक स्रोत र साधनको धनी भएको भए पनि सदुपयोग गर्न नसक्दा समृद्धिका अवसरहरू गुमाइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया