पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् : माधव सापकोटा

लोकपथ
665
Shares

काठमाडौं । नेकपा (माओवादी) केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरू कायम रहेको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । 

गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने उनको भनाइ छ । सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।  उनले गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भए पनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताए । 

उनले भने, ‘गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ । यसमा हामी थप के स्पष्ट पार्न चाहन्छौँ भने हाम्रो मुख्य चासो चाहिँ कता हो भने छानबिन गर्नुपर्‍यो । यो एउटा सामान्य मात्र विषय नभई राष्ट्रिय मुद्दाको रूपमा स्थापित भइसकेको छ । राष्ट्रिय मुद्दा भएको हुनाले निष्पक्ष रूपले छानबिन गर्ने र सत्य तथ्यलाई सार्वजनिक गरेर जनताका बिचमा ल्याउनुपर्छ । यसभित्र भए गरेका कामकारबाही र क्रियाकलापका बारेमा छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्नुपर्‍यो भन्ने हाम्रो मुख्य सवाल छ । छानबिनलाई प्रभावकारी बनाउन नैतिक रूपमा माननीय गृहमन्त्रीज्यूले राजीनामा दिँदा नै उहाँलाई पनि यो छानबिनलाई पनि राम्रो गर्छ भन्ने हाम्रो बुझाई छ । तर उहाँहरू छानबिनका लागि पनि तयार भइसक्नु भएको छैन । गृहमन्त्रीजी व्यक्तिगत रूपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ हामी तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ ।’   

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग संसद् अवरुद्ध गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?