काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयहरूलाई नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्न नसकेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई रिसर्च सेन्टरका रूपमा प्रभाकारी बनाउन नसकिएको बताए ।
उनले विश्वविद्यालयबाट गरिएका अध्ययनहरू व्यवहारिक जीवनमा प्रयोग नै हुन नसकेको उल्लेख गरे । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय मात्रै रहेको बताए । विश्वविद्यालयबाट हुने अध्ययनले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरूमा सार्थक परिणाम दिन नसकेको गुनासो गरे ।
महासचिव पोखरेलले भने, ‘हाम्रा विश्वविद्यालयहरूलाई हामीले इनोभेसन सेन्टरका रूपमा डेभलप गर्नै सकेनौँ । रिसर्च सेन्टरका रूपमा जसरी प्रभावकारी बनाउनुपर्ने हो त्यो गर्न सकेनौँ । हाम्रा रिसर्चहरू व्यवहारिक जीवनमा प्रयोग नै भएका छैनन् । कहिले कहीँ अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो भनेर गर्व गर्ने विषय त बनेको छ । त्यसमा हामी गर्व पनि गर्छौँ । तर हाम्रो देशले के पायो ? भन्ने रूपबाट हेर्दा हाम्रा रिसर्च हाम्रो उत्पादन, उत्पादकत्व वृद्धि, हाम्रो सेवा प्रवाह, मानवीय जीवनको सुगमता जस्ता कुराहरूसँग जोडिएर हाम्रा अध्ययन अनुसन्धानहरूले सार्थक परिणाम दिन सकेका छैनन् । अहिलेको बजेटले त्यो तर्फ जोड दिन खोजेको छ ।’
महासचिव पोखरेलले अहिलेको बजेटले उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सुगमतामा ध्यान दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया