काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा अहिले नै गृहमन्त्रीले राजीनामा दिनु नपर्ने दाबी गरेका छन् ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले विपक्षीहरुले अहिले नै गृहमन्त्रीको राजीनामा माग्नु उचित नरहेको दाबी गरे ।
अहिले राज्यको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भन्दै अख्तियारलाई भरोसा गर्नुपर्ने उनको तर्क छ । साथै अख्तियार गृह अन्तर्गत नपर्ने भएकाले गृहमन्त्रीले राजीनामा नदिँदैमा अनुसन्धान प्रभावित नहुने दाबी समेत गरे ।
‘यो अनुसन्धान अख्तियारले गरिरहेको छ । अनुसन्धानमा मन्त्रालय आवद्ध कर्मचारीहरु छन् । अथवा विमानस्थलमा रहेका कर्मचारीहरु छन् । कर्मचारीमाथि अनुसन्धान हुँदै गर्दा, जो माथि अनुसन्धान भइरहेको छ अनुसन्धानको कुरोलाई सबैभन्दा बढी केन्द्रित त्यही गर्नुपर्छ । अनुसन्धानको लहरो तान्दैगर्दा पहरो गृहमन्त्रीको टेबलमा पुग्छ भने स्वभाविक छ, त्यसबेलामा गृहमन्त्रीले पद छोड्नुपर्छ, अनुसन्धानलाई सघाउनुपर्छ,’ उनले भने ।
त्यस्तै उनले गृहमन्त्रालय मातहतका कर्मचारीहरुमाथि अनुसन्धान हुँदा मन्त्री जिम्मेवार बन्नु नपर्ने समेत दाबी गरे । साथै कर्मचारीमाथि अनुसन्धान हुँदा गृहमन्त्री त्यसमा दोषी हो भनेर भन्न नमिल्ने उनको तर्क छ ।
‘विश्वप्रकाशमाथि उजुरी पर्ने र तपाईँमाथि छानबिन हुने त हुँदैन नि ? सञ्चारकर्मीलाई प्रतिप्रश्न गर्दै शर्माले भने,‘विश्वप्रकाश शर्मामाथि उजुरी पर्ने र विश्वप्रकाशका छोरा या छोरी पक्राउ पर्ने भन्ने हुँदैन ।’
महामन्त्री शर्माले पत्रकारले लेखेको समाचारको आधारमा सम्पादक जिम्मेवार भए पनि पत्रकारमाथि मुद्दा लाग्दा सम्पादकलाई पक्राउ नगरिने भन्दै गृहमन्त्री लेखकको बचाउ गरे ।
‘कुनै रिपोर्टर साथीले लेखेको समाचारको बारेमा रिपोर्टर साथी जति जिम्मेबार बन्नुहुन्छ, निश्चय नै त्यो संस्था पनि जिम्मेवार बन्छ । तर रिपोर्टर साथीलाई मुद्दा लाग्दैगर्दा सम्पादकलाई गिरफ्तार गरिँदैन क्या ! त्यसकारण पहिला सम्पादककै टेबलमा नै पुग्नेगरी नै अनुसन्धान हुँदैछ भने र प्रमाण पुग्यो भने त्यहीबेला हेरौँला नि त,’ उनले भने ।
लामिछाने र लेखकको मुद्दा फरक हो : शर्मा
महामन्त्री शर्माले यसअघि आफूहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्छ भने पनि राजीनामा नमागेको समेत दाबी गरे । साथै लामिछानेमाथि पोखरामा पुरक निवेदन नै परेको र गृहमन्त्रालय मातहतकै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको तर अहिलेको गृहमन्त्रीमाथि अख्तियारले अनुसन्धान गरिरहेको समेत दाबी गरे ।
शर्माले भने :
अघिल्ला गृहमन्त्रीजीसँगको कुरालाई गाँसेर अलिकति आवेग प्रकट हुन खोजेजस्तो संसदमा मैले देखिरहेको छु ।
अघिल्लोपटक भन्दा अहिले कुरा अलिकति फरक छ । अघिल्लो पटक पोखरामा पुरक उजुरी परेको विषय थियो, सम्बन्धित सम्बन्धित गृहमन्त्रीजीको नाममा । अहिले गृहमन्त्रीजीकै नाममा कुनै उजुरी परेको अवस्था हो भने त्यसलाई त्यही कोणबाट हेरौँ । त्यसरी उजुरी परेको देखिदैँन । अघिल्लो गृहमन्त्रीजीको पालामा अनुसन्धान सीआईबीले गरिरहेको थियो, सीआईबी को अन्तर्गत पर्छ भन्दा नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत पर्दछ । अहिले भिजिट भिसा प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ? भन्दा होइन । अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गृहमन्त्रालय अन्तर्गत पर्छ भन्दा पर्दैन ।
उजुरी जो व्यक्तिहरुमाथि परेको छ, त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनुपर्यो, अनुसन्धान गर्ने क्रममा लहरो तान्दै गर्दा पहरो जान्छ भन्ने नेपाली उखान अनुसार, यदी त्यो हो रहेछ भन्दैगर्दा वर्तमान गृहमन्त्रीजी, त्यो भन्दा अगाडीका गृहमन्त्रीजी र प्रधानमन्त्रीसम्म पुग्छ भने पनि कानुनको दायरामा सबै आउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया