काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर पटकपटक मिति सारेर प्रतिपक्षी दलसँगको छलफलमा निष्कर्ष ननिस्किएपछि भोलिसम्मका लागि बैठक सारिएको हो ।
भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरुले प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका छन् ।
आज सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । तर विपक्षीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेपछि बैठक बस्न नसकेको हो ।
त्यसो त सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखकसहित ओलीले प्रचण्डसँग छलफल गरे पनि अन्य दलहरुसँग छलफल गरेर मात्रै निर्णय गर्ने प्रचण्डको अडान रहेको थियो ।
विपक्षीहरुले गृहमन्त्रीको राजीनामा, भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीको जवाफ र संसदीय छानबिन समितिको माग गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया