काठमाडौं । अहिले नेपालमा ‘भिजिट भिसा’ चर्चामा छ । भिजिट भिसाका नाममा बर्सेनि लाखौँ नेपाली विश्वका विभिन्न देशमा पुग्ने र अलपत्र हुने गरेको समाचार नौलो होइन ।
भिजिट भिसा, त्यसबाट नेपालीले पाउने दुःख र भिजिट भिसाका नाममा गैरकानुनी काममा नेपालीहरू कसरी प्रवेश हुन्छन् ? त्यसको एक दृष्टान्त तल प्रस्तुत गरिएको छ ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयले ‘अनलाइन बेटिङ’ को अखडामा छापा मार्यो । ललितपुरका दुई स्थानमा भाडामा लिइएको घर र अपार्टमेन्ट गरी १७ जनालाई पक्राउ गरिएको छ । जसमा १२ जना नेपाली रहेका छन् भने अन्य ५ जना भारतीय नागरिक रहेको कार्यालयले जनाएको छ । भारतीयको मुख्य योजनामा गैरकानुनी अनलाइन बेटिङ खेलाउने मुख्य अखडामा प्रहरीले छापा मारेपछि भिजिट भिसाको कनेक्सन कसरी अनलाइन बेटिङसम्म पुग्यो ? त्यसको तथ्य पत्ता लागेको छ ।
भिजिट भिसादेखि अनलाइन बेटिङसम्म
भिजिट भिसाका नाममा बर्सेनि हजारौँ नेपाली यूएई पुग्छन् । अछामको साँफेबगर नगरपालिका वडा नं ९ घर भई हाल ललितपुर बस्दै आइरहेका २९ वर्षीय डाइमण्ड कुँवर भिजिट भिसामा यूएई पुगे ।
भिजिट भिसाका लागि भन्दै काठमाडौंको सामाखुसीमा रहेको नमस्ते म्यानपावर कम्पनी मार्फत उनलाई त्यहाँ पुर्याइन्छ । सन् २०२२ को अन्तिममा उनले भिजिट भिसाका लागि १ लाख ५० हजार रुपैयाँ तिरेर यूएई पुगेपछि काम लगाइदिने भनिएको थियो । त्यसका लागि दलालमार्फत् बैंक स्टेटमेन्ट, होटल बुकिङलगायतको फेक टिकट बनाइन्छ । यूएईबाट जोर्डन पठाउने र त्यहाँ काम लगाइदिने भन्दै आश्वासन देखाइएको थियो । तर त्यहाँ कुनै काम नपाइएपछि उनी जस्तै भिजिट भिसाका नाममा यूएई पुगेकाहरू अलपत्र पर्छन् । भिजिट भिसामा जाँदा अनिवार्य रूपमा बस्ने होटललगायतको डकुमेन्ट आवश्यक पर्छ । तर त्यहाँ पुगेपछि उनीहरूलाई एउटै कोठामा २०–२५ जनालाई राखिएको थियो ।
त्यसक्रममा खगेन्द्र खड्का भन्ने नेपालीले नै उनीसहित अन्य भिजिट भिसामा गएकाहरूलाई अनलाइन बेटिङको काममा सरिक गराए । उनीहरूलाई सुरुमा क्यासिनोको काम हो भन्दै काममा लगाइएको थियो र तलब पनि राम्रो दिइएको थियो । सुरुमै आफूहरूलाई १५ सय दिराम (आजको रेट अनुसार ५५ हजार ५ सय रुपैयाँ) तलब दिइएको थियो । उनीहरूको काम ‘विथड्रयल’ भर्ने रहेको डाइमण्डले प्रहरीसँगको बयानका क्रममा भनेका छन् । पछि भने उनीहरूको तलब अहिले ७०–८० हजार रुपैयाँसम्म पुर्याइएको थियो । डाइमण्डले दिएको बयानअनुसार अधिकांश भिजिट भिसामा यूएई पुगेका नेपालीहरूले अनलाइन बेटिङकै काम गर्ने गरेका छन् ।

उनीहरूलाई गत डिसेम्बरमा नेपालको ब्रान्चमा काम लगाइदिने भन्दै यता सरुवा गरिएको थियो । विगत ५ महिनादेखि उनीहरूलाई नेपाल ल्याएर भाडामा लिइएको घरमार्फत अनलाइन बेटिङको काममा लगाइएको थियो ।
को कहिले पुगेका थिए यूएई ?
डाइमण्ड मात्र होइन अन्य धेरै नेपालीहरू उनी जस्तै विभिन्न म्यानपावर कम्पनीमार्फत भिजिट भिसामा यूएई पुगे । काम लगाइदिने प्रलोभन देखाइयो तर काम नपाएपछि अलपत्र परेर अनलाइन जुवा खेलाउन पुगेका छन् ।
अछाम चौरपाटी गाउँपालिका–७ का २१ वर्षीय मनोज बोगटी (२५ नोभेम्बर २०२४–२४ जनवरी २०२५ को बिचमा यूएई गएर नेपाल आएको ।)
कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का ३० वर्षीय राजेन्द्रबहादुर महता– (भिजिट भिसामा २०२३–२०२४ को बिचमा यूएई पुगेर नेपाल आएका ।)
कैलालीको गौरीगंगा नगरपालिका–६ का २१ वर्षीय अरविनकुमार खड्का (राहदानी नभएको ।)
दाङको लमही नगरपालिका–१ घर भएका २४ वर्षीय विष्णुकुमार राउत (भिजिट भिसामा २०२४–२०२५ को बिचमा यूएई पुगेर नेपाल आएका ।)
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ४ का २४ वर्षीय विष्णुकुमार राउत र २६ वर्षीय ठक्कर कुँवर– (भिजिट भिसामा २०२४–२०२५ को बिचमा यूएई गएर नेपाल आएको ।)
डोटीको पूर्वीचौकी गाउँपालिका–४ का ३० वर्षीय तिलक खड्का– (भिजिट भिसामा २०१९–२०२५ को बिचमा यूएई गएर नेपाल आएको ।)
नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–१२ का २६ वर्षीय जोर्डन भनिने जीतबहादुर महतो (भिजिट भिसामा २ अक्टोबर २०२३ देखि २६ जनवरी २०२५ को बिचमा यूएई गएर नेपाल आएको ।)
डोटीको पूर्वीचौकी गाउँपालिका–४ का २३ वर्षीय सुवास खड्का– (राहदानी नभएको)
अछाम साँफेबगर नगरपालिका–७ का २१ वर्षीय विकास थापा – (राहदानी भएको तर विदेश नगएको ।)
डोटीको पुर्वीचौकी गाउँपालिका–४ का २३ वर्षीय हर्कबहादुर खड्का –भिजिट भिसामा ७ जनवरी २०२४ देखि २६ जनवरी २०२५ को बिचमा यूएई गएर नेपाल आएको ।)
त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भएका २६ वर्षीय पूर्णबहादुर दर्लामी– (भिजिट भिसामा २०२४ देखि २०२५ को बिचमा यूएई गएर नेपाल आएको ।)
त्यसो त पक्राउ परेका अन्य भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
जसमा भारतीय नागरिक २५ वर्षीय अंकितकुमार सिंह, २५ वर्षीय धिरजकुमार सिंह, २५ वर्षीय मोहितकुमार सिंह, २० वर्षीय ऋषव राँज र २६ वर्षीय दीपककुमार सिंह रहेका छन् ।
प्रहरीका अनुसार ऋषभ बाहेक सबै भिजिट भिसामा यूएई पुगेर पछि नेपाल सरुवा गरेर अनलाइन बेटिङमा लगाइएको खुल्न आएको छ ।
उनीहरू ५ महिनाअघि मात्रै नेपाल आएका थिए । भारतीय नागरिकको नेतृत्वमा सञ्चालित ‘सेभेन इलाभेन ब्याट क्लब र युनिकर्न ३६५’ बेटिङ साइट सञ्चालन गरेका थिए ।
उनीहरूले आफूहरू एमबीबीएसका विद्यार्थी रहेको भन्दै दुई स्थानमा कोठा भाडामा लिएका थिए । उनीहरूले ललितपुरको धापाखेलमा एक घर भाडामा लिएर अनलाइन बेटिङको धन्धा चलाइरहेका थिए । जहाँबाट प्रहरीले १५ जनालाई पक्राउ गरेको थियो । त्यस्तै उनीहरूले ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्टमा समेत फ्ल्याट भाडामा लिएर आफ्नो धन्दा चलाएका थिए । जहाँबाट २ जनालाई पक्राउ गरिएको हो ।

त्यस्तै नेपालमा अवैध मानिने अनलाइन बेटिङ मार्फत उनीहरूले हालसम्म ८० करोड रुपैयाँबराबरको कारोबार गरिसकेको खुल्न आएको छ । प्रहरीले १५ जना पक्राउ गरिएको धापाखेलबाट ६५ थान ल्यापटप र ६० थान मोबाइल बरामद गरेको थियो भने सनराइज अपार्टमेन्टबाट १४ थान ल्यापटप बरामद गरिएको थियो ।
मुख्य योजनाकार भारतीय नागरिक रहेको र उनी हाल यूएईमै रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया