काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले डाकेको प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक निष्कर्षविहीन भएको छ । विपक्षीले यसअघिकै विषय दोहोर्याएपछि बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकले सदनमा बोल्न दिने वातावरण बनाउन पुनः प्रस्ताव गरेकोमा विपक्षीले भने भिजिट भिसा प्रकरण गृहमन्त्रीको समेत नाम जोडिएकोले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताएका थिए ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भने, ‘सत्तापक्ष र प्रतिपक्षबिच कुरा मिलिरहेको छैन । सरकार भन्छ– गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्यो, हामी प्रतिपक्षीले भने यो घटना छानबिनका लागि उच्चस्तरीय समिति नबनेसम्म न गृहमन्त्रीले बोल्न मिल्छ न सदन चल्छ भन्यौँ ।’
उनले मानव तस्करी प्रकरणमा गृहमन्त्रीको नाम जोडिएकाले उनको राजीनामा र पहिलेदेखि नै अध्यागमनबाट भिजिट भिसा प्रकरणमा आपराधिक कार्य भएको देखिएकोले यसको समग्र छानबिन हुनुपर्ने आफूहरूको माग रहेको बताए ।
बैठक आज बिहान ११ बजेका लागि डाकिएकोमा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । सभामुखले सदन खुलाउनका लागि सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल जारी राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया