काठमाडौं । विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरूको बैठकले भिजिट भिसा प्रकरणमा २०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भिजिट भिसा प्रकरणमा बहालवाला गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित उनीहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।
बैठकले भिजिट भिसा प्रकरणलाई लिएर छानबिन समिति बनाउनुपर्ने र यसलाई सधैँका लागि निराकरण गर्नुपर्ने प्रस्ताव पनि सार्वजनिक गरेको छ ।
‘उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको ’भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने’ बैठकको निष्कर्ष छ ।
बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने र त्यसको परिणाम नआएसम्म गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने पनि भनेको छ ।
साथै बैठकले यसबारे जिम्मेवारी लिन र प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनीहरूको अर्को निष्कर्ष छ ।
२०६४ सालपछि कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, भीम रावल, विमलेन्द्र निधि, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत, रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ, खगराज अधिकारी, रवि लामिछाने, बालकृष्ण खाँड, जनार्दन शर्मा, माधवप्रसाद घिमिरेलगायत गृहमन्त्री भइसकेका छन् । यो अवधिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०८०/११/२१ देखि ११/२३ सम्म प्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया