काठमाडौं । नेपाली हास्य क्षेत्रका चर्चित कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । नक्कली प्रचण्डको रूपमा परिचित गौतमको राति १२ः१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारको क्रममा निधन भएको हो ।
गौतम करिब दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई केही समयअघि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । अवस्था जटिल भएपछि उनलाई ताथलीस्थित क्यान्सर सेन्टरमा सारिएको थियो ।
गौतम ‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यंग्यात्मक भूमिकामा देखिएपछि नक्कली प्रचण्डको रूपमा चर्चित बनेका थिए । केही दिनअघि मात्रै उनलाई भेट्न गएका प्रचण्डले उपचारमा सहयोग गर्ने वचन दिएर बिर्सिएको गुनासो गर्दै पोस्ट गरेका थिए ।
लामो समयदेखि क्यान्सरसँग जुधिरहेका उनलाई आर्थिक समस्या भएपछि सहयोगको अपिल पनि गरिएको थियो । उनले ‘गाईजात्रा’ लगायतका थुप्रै हास्य कार्यक्रमहरूमा पनि प्रस्तुति दिएका थिए ।
उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । कलाकार तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया