काठमाडौं । सोमबार दिउँसो एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने पोस्टर सार्वजनिक गरे ।
प्रधानमन्त्री ओलीको उक्त पोस्टर सार्वजनिक भएसँगै एमालेका शीर्ष नेतादेखि कार्यकर्ताहरुले समेत सोही अनुसार पोस्टर सार्वजनिक गरे । प्रधानमन्त्री ओलीले आफ्नो पोस्टरमा ‘एउटा परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र हो,’ लेखेका थिए ।
ओलीको ट्रेण्डलाई नै फलो गर्दै उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरुले ‘म झोले हो’ भन्दै पोस्टर सार्वजनिक गरे ।
उल्लेखित माथिको सन्देशमा ओलीले राजतन्त्रको मुद्दा बोकेर हिँड्नेहरुमाथि कटाक्ष गरेका थिए ।
चर्चित उक्त ‘ट्रेण्ड’को चौतर्फी चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले भने उक्त अभियान राम्रोको लागि भएको प्रतिक्रिया दिएका छन् ।
सोमबार एमालेको संसदीय दलको बैठकबाट बाहिरिँदा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो प्रतिक्रिया दिएका हुन् ।
उक्त ट्रेण्डबारे सञ्चारकर्मीले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने– ‘राम्रो काम बोकेर हिँड्नु, राम्रो कुरा राम्रो विचार बोकेर हिँड्नु, राम्रो कुरा हो ।’
त्यसो त उक्त भनाइप्रति आलोचना समेत भइरहेको छ । उक्त भनाइप्रति आलोचना गर्नेहरुप्रति समेत ओलीले कटाक्ष गरेका छन् । तर त्यसलाई खिसिट्यूरी गरिरहेका छन् नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने– ‘विचराहरु’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया