काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घराज सोडारीविरुद्ध मुद्दा दायर भएको छ ।
एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका सोडारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो ।
सोडारीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सोडारी गत निर्वाचनमा कैलाली क्षेत्र नं ४ प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए ।
सोडारी २०८१ साल वैशाख ६ गतेदेखि साउन १६ गतेसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका थिए । त्यसो त त्यसअघि उनी ०७४ माघदेखि ०७५ कार्तिकसम्म प्रदेशको सामाजिक विकासमन्त्री बनेका थिए भने ०७८ जेठ १४ गतेदेखि ०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७४ माघ ७ गतेदेखि मिति ०७९ फागुन १० गतेसम्मको अवधिमा सोडारीको सम्पत्ति चाँज गरेको थियो ।
खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक बचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी जम्मा (८५,५१,३३४.९२ (पचासी लाख एकाउन्न हजार तीन सय चौतीस रूपैयाँ र बयानब्बे पैसा) वैधानिक आय आर्जन गरेको देखिएको थियो ।
त्यसो त सोही जाँच अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च, छोरीको अध्ययन खर्च, निजको श्रीमती संचालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बीमा प्रिमियम भुक्तानी, प्रदेश सभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी, बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत गरी जम्मा
१,९३,८९,६३७.४९ (एक करोड त्रियानब्बे लाख उनानब्बे हजार छ सय सैतीस रुपैयाँ उनान्पचास पैसा) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको थियो । साथै उनको जाँच अवधिको कुल–समग्र आयबाट सोही अवधिको कुल–समग्र खर्च तथा लगानी (कुल व्यय) घटाउँदा १,०८,३८,३०२.५७ (एक करोड आठ लाख अठ्तीस हजार तीन सय दुई रूपैयाँ र सन्ताउन्न पैसा) ले कुल आयभन्दा कुल व्यय अधिक हुन गई सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ ।
सोडारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
सोडारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै निजलाई बिगो १,०८,३८,३०२.५७ (एक करोड आठ लाख अठ्तीस हजार तीनसय दुई रूपैयाँ र सन्ताउन्न पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवाना हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी पाउन र निजले यस आयोग समक्ष पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएकोले निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुने उनले भ्रष्टाचार निवारण ऐन, २०५९को परिच्छेद–२ (भ्रष्टाचार कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया