संसदमा पेलेरै जाने मनस्थितिमा ओली, विपक्षीलाई भने– ‘सैह्य हुँदैन’

लोकपथ
1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अवरोध नहटे विपक्षीलाई पेलेरै जाने तयारीमा देखिएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विपक्षीले संसदमा ज्यादती गरे सैह्य नहुने चेतावनी समेत दिए ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरुले निरन्तर संसदमा अवरोध गरिरहेका छन् । मंगलबार बस्ने संसदमा समेत विपक्षीहरुले विरोध जनाउने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना सांसदहरुलाई डटेर सामना गर्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामा ? केही तथ्य, केही प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्छ । केहीले छोएको छैन, केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ, गृहमन्त्री त्यसकारण राजीनामा गर्नुपर्छ यस्ता कुराले संसद अवारोध हुँदैन । म स्पष्ट भन्न चाहन्छु । तपाईंहरु मेण्टल्ली तयार भएर बस्नुस् । यसरी संसद अवरोध हुँदैन । यसरी संसद अवरोध चल्दैन यो । जहिले पनि संसद अवरोध, जहिले पनि संसद अवरोध, दुई जना उठ्यो, करायो, हल्ला गर्यो, संसद अवरोध ? संसद अवरोध त्यसरी हुन सक्दैन । उहाँहरु कराउनु होला, तर संसद अघि बढाउनुपर्छ । धेरै भयो उहाँहरुको ज्यादती पनि धेरै भयो । अत्ति नै भयो । उहाँहरुलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्ने भएको छ । त्यहाँ पनि बाटो जाम गर्नै भएको छ । अनि जो बोल्छ, जसले अलिकति कुरा गर्दछ, कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छ । कोही माईतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन् । साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माईतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने, हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिनसक्छ, माग पूरा गराएरै छोड्नु्स्, पैसा पाउनुपर्छ, यस्तो तरिका छ, यो तरिका होइन ।’

अध्यक्ष ओलीले विपक्षी दलहरुले संसद र सडकमा वितण्डा खडा गरेको बताए ।

त्यसो त आफूले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर संसदको अवरोध हटाउन चाहेको तर प्रचण्ड सम्पर्कमा आउन नचाहेको समेत बताए ।

त्यस्तै ओलीले महत्वपूर्ण छलफलमा समेत आफ्नो सांसद र मन्त्रीहरु उपस्थित हुन छाडेको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?