काठमाडौं । विश्वमै घट्ने बिरलै घटनामा पर्दछ नेपालमा भएको ‘राजदरबार हत्याकाण्ड’ । आज भन्दा २४ वर्ष अघि अर्थात् ०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश हुने गरी हत्या काण्ड भएको थियो । दरबार हत्या काण्डको यतिका समय हुँदा समेत त्यो घटना कसरी भएको थियो ? भन्ने रहस्यकै गर्भमा लुकेको विषय बनेको छ ।
उक्त नरसंहारकारी हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, अधिराजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी निर्मम तरीकाले हत्या गरिएको थियो । उच्च सुरक्षा घेराभित्र राजपरिवारको नै हत्या हुनुलाई निकै रहस्यमय रुपमा हेरिएको छ ।
दरबार हत्याकाण्डपछि नयाँ राजा बनेका ज्ञानेन्द्र शाहले जेठ २२ गते शाही घोषणा गर्दै राजदरबारमा घटेको घटनाको छानबिनका लागि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए । उक्त समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य राखिएको थियो । यद्यपि नेपालले भने उक्त समितिमा नबस्ने भन्दै राजीनामा दिएका थिए । उक्त समितिले जेठ ३२ गते प्रतिवेदन बुझाएको थियो । समितिले उक्त प्रतिवेदनलाई ३ भागमा विभाजन गरी दरबारसमक्ष प्रस्तुत गरेको थियो ।
जसअनुसार पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया, दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवं तथ्यांकहरुको प्रस्तुती रहेको थियो । भने तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख गरिएको थियो । तर उक्त प्रतिवेदनले स्वीकार्यता पाउन नसक्दा दरबार हत्याकाण्डको घटना रहस्यमै रहन पुग्यो ।
यस्तो छ समितिले बुझाएको प्रतिवेदनमा आधारित घटनाको प्रतिवेदन :
१) नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राती नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो। नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनिएको), श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवीशाह (यस पछि श्री ५ बडामहारानी भनिएको), श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह (यस पछि श्री ५ मुमा बडामहारानी भनिएको), श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (यस पछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहका अतिरिक्त राजपरिबारका अन्य सदस्यहरू एवं शाही–नातेदारहरू गरी २४ जनालाई राती ७:३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी ३ जना वाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ। आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ।
२) उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राती ७:३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र वोहरा समेतको भनाइबाट पुष्टि भएको छ। त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ। राती ८ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राज हुने बंगला महेन्द्र–मञ्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसूफको मोटर आफैले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो।
श्री ५ मुमा बडामहारानी विलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राजभइबक्स्यो। राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्तमा राति करिब ८:३० बजे श्री ५ महाराजाधिराज मौसूफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि विलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो।
३) श्री ५ युवराजाधिराजले ७:३० बजे त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलिबक्सेको र त्यस क्रममा १र२ पेग निट (पानी नराखी) Famous Grouseह्विस्की समेत पिइबक्सेको तथ्य मौसूफका एडिसी गजेन्द्र वोहरा र शाही नातेदार महेश्वर सिंह तथा रवि शम्शेर जबरा समेतको भनाइबाट देखियो। श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिब १०–१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखि ह्विस्कीको असरले हो किरु भन्ने सम्झी श्री ५ अधिराजकुमार निराजन, श्री ५ शाहज्यादा पारस, कुमार गोरख र डा राजीव समेत ४ जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएका प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ।
४) श्री ५ युवराजाधिराज विलियार्ड कोठामा रहँदाकै अवस्थामा राती ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र वोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भए बमोजिम गजेन्द्र वोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको शिखर चुरोटमा गाजाँ र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारस मार्फत् जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो। गाँजा लगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिब १ बर्षदेखि आफूले त्यस्तो चुरोट बनाई दिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए। श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र वोहरा र राजु कार्की समेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समिति समक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ।
५) छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकोले नेपाल दूरसंचार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राती ८:१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्यास उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेण्ड (१:१४) देवयानी राणासँग कुरा भएको र दोश्रो पटक देवयानी राणाले राती ८:१९ बजे फोन नं ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसूफको मोबाइल नं ९८१०२१५१३ मा ४ मिनेट १४ सेकेण्ड (४:१४) कुरा भएको अभिलेखबाट देखियो। पुनः राति ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं ९८१०२१५१३ बाट देवयानी राणालाई मोवाइल नं ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ।
काडमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरु गजेन्द्र वोहरा र राजु कार्की तथा श्री ५ युवराजधिराजको मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ। श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समिति समक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो। देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत डा. भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेप रिकर्ड अनुसार) पनि श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच घनिष्टता रहेको तथ्य पुष्टि भएको छ।
६) देवयानी राणाले श्री ५ युवराजाधिराजसँगको कुरा आफ्नो व्यक्तिगत विषय भएकोले त्यसबारे बताउन नचाहको र राति ८:२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लड्बराई रहेको जस्तो लागेकोले सरकारसँग अरु कुरा हुन नसकेको कारणले ‘श्री ५ युवराजाधिराजको स्वर अलि लड्बराई राखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र वोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ’ भनी उल्लेख गरेको पाइयो।
७) देवयानी राणाले श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र वोहरालाई फोन गरेपछि र राजु कार्कीले गजेन्द्र वोहरालाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्र वोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दा श्री ५ युवराजाधिराज भुइँमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजी बक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालीसकेपछि श्री ५ युवराजाधिराज वाथरूम सवारी होइबक्सेको, वाथरुमभित्र वाक वाक गरिबक्सेको आवाज जमुना अधिकारी समेतले सुनेको र वाथरुमबाट निस्किवक्सेपछि श्री ५ युवराजाधिराजले ती दुवैजनालाई सुत्न आ–आफ्नो कोठातिर जानू भनी हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ।
८) राती ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल फोन नं ९८१०२१५१३ बाट देवयानी राणालाई ८१०२४३३९ नं को मोबाइलमा ३२ सेकेण्ड कुरा गरिवक्सेको दूरसंचारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट ‘अब म सुत्न लागें, गुड नाइट, भोलि कुरा गरौंला’ भनिबक्सेको भन्ने निजको कथन रहेको छ ।
९) देवयानी राणासँग फोन सम्पर्क गरिबक्सेपश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्ब्याट पोशाक पहिरी हात हतियार समेत लिई खोपी बाहिर निस्किबक्सिदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको वाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी ‘इमर्जेन्सी व्याग टक्रयाउँ सरकार’ भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट ‘पर्दैन’ अहिलेु भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ ।
१०) श्री ५ युवराजाधिराज कम्व्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ वोर भिरिबक्सी विलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको विलियार्ड कोठासँगै जोडिएको डाइनिङ्ग कोठाको पूर्वपट्टिको बैठकबाट व्वाइज वच्चुराम केसीले देखेको भन्ने निजको कथन रहेको छ ।
११) श्री ५ युवराजाधिराज सैनिक कम्व्याट पोशाकमा विलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङ्गको बन्दुक (9 mm. Caliber MP-5K Automatic Sub-machine Gun) द्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल विलियार्ड टेवुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिवक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै विलियार्ड कोठा बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ्ग नजिक १२ वोरको बन्दुक (SPAS 12-L FRANCH SPA) फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरी वत्ती र टेलिस्कोप सहितको राईफल (5.5 mm Caliber Colt M-16) सोझ्याउदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरख शम्शेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रो पटक श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फायरिङ गरी श्री ५ युवराजाधिराज विलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर , डा. राजीव शाही, महेश्वर कुमार सिंह समेतको भनाइ रहेको छ।
१२) विलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्द फायरिङ गरेपश्चात् पछाडि सर्दैसर्दै पूर्व तर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य विलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाइनिङ रुमबाट ब्वाइज शान्तबहादुर खड्का समेतले देखेको भनी निजले बताएको पाइयो। विलियार्ड कोठाबाट पूर्व भित्रीबगैँचामा जाने बाटो हुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको संगम जस्तो ठाउँमा श्री ५ वडामहारानीको पछाडि पछाडि श्री ५ अधिराजकुमार निराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टर समेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झयाङ्ग नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार निराजन पूर्वतर्फ टाउको परेर ढलिबक्सेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी बिष्णु खड्का समेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पुर्यौएको भन्ने पाइयो।
१३) विलियार्ड कोठामा भएको फाएरिङ्ग पश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडिसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फाएरिङ्गको आवाज र ‘डाक्टर चाँडो बोलाऊँ…’ भन्ने आवाज सुनी भित्र गई विलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सधैँ बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप राना समेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पाश्र्ववर्तीहरूको कथन रहेको देखिन्छ।
१४) श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्यािङ्गको सातौं खुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भर्यााङ्गको माथिल्लो भागमा रहेको ल्याण्डिङ्ग एरियाबाट फायरिङ भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँ ठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ।
१५) श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जँहा श्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैँचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार घ्वार आवाज निकाली रहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्ती समेतले समिति समक्ष जानकारी गराएको देखिन्छ। श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको 9mm. Caliber Glock Ges. । पिस्तोल र खोका समेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ। 5.56 Caliber M-16 A2 राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनको क्रममा पाइएको छ।
१६) उपर्युक्त बमोजिमको विलियार्ड कोठा र सो कोठाको पूर्वी वगैँचा एवं खोपीमा जाने भर्याङ्गमा भएको घटना पश्चात् शाही पाश्र्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उद्धार गरी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुर्यााएकोमा अस्पताल पुर्यापउँदाको समय र अवस्थाको सम्बन्धमा यस समितिमा देहाय बमोजिमको जानकारी प्राप्त भएको देखिन्छः–
(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित।
(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यायउँदा मृत घोषित।
(ग) श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित।
(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राती ९:२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र ९ः५५ बजे अस्पतालमा मृत घोषित।
(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएउँदा मृत घोषित।
(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यायउँदा मृत घोषित।
(छ) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(ज) श्री कुमार खड्गविक्रम शाह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याअउँदा मृत घोषित।
(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह २०५८र२र१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यातएको र २०५८र२र२२ गते सोही अस्पतालमा विहान ३:४५ बजे मृत घोषित।
(ञ) श्री धीरेन्द्र शाह २०५८र२र१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउएको र २०५८र२र२२ गते बेलुकी
५:५७ बजे सोही अस्पतालमा मृत घोषित।
१७) माथि उल्लेख गरिएका १० (दश) जना वाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीँ कतैबाट खुल्न आएको देखिएन।
१८) घटनाबाट पीडित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शम्शेर जबरा र श्रीमती केतकी चेष्टरलाई गम्भीर घा चोट लागेको तथ्य अस्पतालबाट प्राप्त घा चोट विवरणबाट देखिन्छ।
१९) श्री ५ युवराजाधिराजलाई घटनाको तत्काल पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८र २र२८ को पत्र अनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाईज (कम्व्याट) ज्याकेट, पाइण्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाईज भेष्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ। सो कपडा, पञ्जा, जुत्ता आदि र वेब बेल्ट समेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेँलो पहेँलो पदार्थको प्रयोगशालामा परीक्षण गराउँदा ‘B’ समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ। मृतकहरू मध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि ‘B’ रहेको पाइन्छ।
२०) श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्यामउँदा पञ्जा लगाएको अवस्थामा पुर्याकईएको अस्पतालको पत्र प्राप्त हुन आएको छ। सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ। सो एकजोर पञ्जा वाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिदैन।
२१) (क) 5.56 Caliber Colt M-16 A2 हतियार नं A0073943 (Commando) Automatic Rifle बाट प्रहार भएका ४७ वटाCartridge Cases फेला परेको पाइयो। उक्त राईफलको क्षमता प्रति मिनेट ७०० देखि १००० गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ।
(ख) घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm. Caliber MP-5 K Automatic Submachine Gun बाट प्रहार भएको र उक्त बन्दुक को क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ।
(ग) घटनास्थलमा फेला परेको २ वटाCartridge Cases 9mm. Caliber MP-5 K Automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ। उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुल छेउमा रहेको पोखरीमा फेला परेको थियो।
(घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको A0073943 नं.को M-16 बन्दुक शाही रक्षक सैनिक प्रहरी राजदरबारको ०५६/५/३१ को माग बमोजिम निकाशी भई शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह–सेनानी माधव भण्डारीले बताएको। सो हतियार श्री ५ युवराजधिराज समेत ट्रेकिङ्गमा सवारी भैबक्सेको बेला साथमा लिइ सवारी भएको। श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको बेलामा राजदरबार कोतबाट सिधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पाश्र्ववर्ती गजेन्द्र बोहराले सोधपुछको क्रममा उल्लेख गरेको समेत पाइयो।
(ङ) एउटा पेस्तोल र 9mm. Caliber को बन्दुक १ समेत शाही पाश्र्ववर्ती राजदरबारबाट माग भए बमोजिम २०५३/१/२७ र २०५६/७/२८ मा निकाशा भएको देखिन्छ। श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र वोहराको अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराज कै साथमा (जिम्मामा) रहेको थियो।
(च) 9mm. G19 Glock नं. YY 334 नं. को पेस्तोल समेत २०५५/१०/२२ मा श्री ५ अधिराजकुमार निराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकाशा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ।
(छ) विलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटो छेउ कुनामा फेला परेको १२ Bore Single Barrel Shot Gun बाट सो घटनामा Fire भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुस समेतबाट देखिन आएन।
२२) नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडिसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको सानो गेट बाहेक सो घटनाभएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षतः देखिन आएन। घटनास्थलको नक्सा स्केच यसै प्रतिवेदनको अनुसूचीमा दिइएको छ।
२३) २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दुकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ। घटनाबाट पीडित घाइतेहरूको घा चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयम् घाइतेहरूले सोधपुछका क्रममा उल्लेख गरेको पाइयो। वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारीअनुसार पनि घाइतेहरूको घाउ चोटको कारण बन्दुकको गोली लागी परेको भन्ने देखियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया