नेपथ्यको सांगीतिक उत्सव : नेपाल र भुटानको झन्डा एकसाथ फरफरायो

लोकपथ
224
Shares

काठमाडौं । नेपालको प्रसिद्ध ब्यान्ड नेपथ्यको कन्सर्ट जहाँ हुन्छ, त्यहाँ दुई कुरा अनिवार्य झल्किन्छन् ‘रातो र चन्द्र सूर्य’ गीत र हर–तरफ फरफराउने नेपाली राष्ट्रिय झन्डा । तर, यस पटक पिट्सबर्गस्थित रक्सिन थिएटरमा त्यो दृश्यमा एक थप आयाम थपिएको थियो– सेतो ड्रागन अंकित पहेँलो–गेरु रंगको भुटानी झन्डा ।

हलभरि उल्लेखनीय संख्यामा भुटानी पुनर्वासित नेपालीहरूको उपस्थिति थियो । यही प्रसंगमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले मञ्चबाट सन्देश दिए, ‘विगतलाई सम्झनु पर्छ, तर माफ गरेर अघि बढ्ने हिम्मत राख्न आवश्यक छ । हामीलाई बाँध्ने शक्ति भनेकै यो भाषा हो । सद्भाव कायम रहोस्, कसैले कसैप्रति घृणा नराख्नुस् ।’

उनको यो सन्देशले हल गुञ्जायमान भयो– दर्शकहरूले लामो समयसम्म तालले प्रतिउत्तर दिए । ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट सुरु भएको कन्सर्ट ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ जस्ता चर्चित गीतहरूसँगै अगाडि बढ्यो ।

७३ वर्षीया पेग्गी स्टर्लिङ पनि दर्शकदीर्घामा थिइन् । सानैमा जर्मनीबाट अमेरिका आएकी उनले श्रीमान् बितेपछि पनि कन्सर्ट हेर्ने बानी छोडेकी छैनन् । ‘नेपालको ब्यान्ड आउँदै छ भन्ने थाहा पाएपछि गुगल मार्फत जानकारी लिइरहेकी थिएँ,’ उनले भनिन्, ‘भाषा त बुझिनँ, तर संगीत र वरपरको माहौलले पूरै रमाइलो भयो ।’ पेग्गीका अनुसार, ‘धुन र वातावरणले आत्मालाई छोएपछि भाषा थोरै महत्व राख्छ ।’

त्यही दर्शकदीर्घामा थिइन् साबी सिवाकोटी, जो चार वर्षकै उमेरमा मोरङको पथरी शिविरबाट अमेरिका पुनर्वासमा आइपुगेकी हुन् । बहिनीको साथमा पहिलोपटक कन्सर्ट हेर्न आएकी साबीले भनिन्, ‘सारा हल रमाइरहेको देख्दा आफू पनि नाच्न र गाउन बाध्य भएँ ।’

गायक अमृत गुरुङले पेन्सिलभानियामा नेपालीभाषी समुदायको सशक्त उपस्थिति देख्दा खुसी व्यक्त गर्दै ‘हामीले बोल्ने भाषा भावी पुस्तासम्म फैलाऔँ’ भन्ने आग्रह गरे ।

कार्यक्रमको आयोजकमध्ये एक विद्या पुलामी थिइन्, जो स्वयं भुटानी शरणार्थी परिवारकी हुन् । ‘हामी धपाइएका हौँ, तर भुटानलाई पनि माया गर्छौँ,’ उनले भनिन्, ‘त्यसैले आज म नेपाली र भुटानी दुवै झन्डा लिएर मञ्चमा उपस्थित भएँ ।’

नेपथ्यका समर्पित श्रोतामध्येका एक थिए राजेन्द्र सापकोटा, जो बेलडाँगी शिविरमा जन्मेका थिए । उनले यसअघि कोलम्बस, एटलान्टा र ह्यारिसबर्गका कन्सर्टमा पनि सहभागिता जनाएका थिए । ‘नेपथ्य मेरो हृदयमा बस्छ,’ उनले भावुक हुँदै भने, ‘यसका गीतहरूले मेरो किशोर वयको नेपाल सम्झाउँछ ।’

अमृत गुरुङको साथमा मञ्चमा ध्रुव लामा (ड्रमसेट), सुविन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड) थिए । पिट्सबर्गमा चौथो प्रस्तुति दिएपछि नेपथ्य अब सिकागो सहरतर्फ लाग्नेछ । जुन ७ मा दी भिक थिएटर, सिकागो; त्यसपछि जुन ११ मा रोयल बोस्टन, बोस्टन; अनि अन्तिम कन्सर्ट जुन १४ मा पिडमोन्ट हल, ग्रिन्सबोरो, नर्थ क्यारोलाइना मा हुनेछ । यससँगै यस वर्षको अमेरिका यात्रा समाप्त हुनेछ ।

तस्बिरहरू : दिपित राज/मनसुन श्रेष्ठ (नेपालय)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?