युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण, ४० वटाभन्दा बढी जहाज ध्वस्त

लोकपथ
6.7k
Shares

काठमाडौं । युक्रेनले रुसी हवाई अड्डाहरूलाई लक्षित गरेर अहिलेसम्मकै ठूलो परिमाणमा ड्रोन हमला गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, युक्रेनले रुसको पूर्वी साइबेरियादेखि पश्चिमी सीमासम्म ड्रोन हमला गरेको थियो र यो हमला अहिलेसम्मको समन्वयात्मक र सटिक हमला हो । 

ड्रोन हमलाबाट रुसका धेरै हवाई अड्डाहरूमा सैन्य विमानहरूमा आगो लागेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आगोको लप्कामा जलिरहेका फोटो र भिडिओहरू समेत सार्वजनिक भइरहेको छ । 

नर्वेको सीमानजिकको मर्मन्स्क, पूर्वी साइबेरियाको इरकुत्स्क लगायत विभिन्न राज्यका हवाई अड्डाहरूमा सैन्य विमानहरूमा आगो लागेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी) ले युक्रेनले प्रहार गरेको ड्रोनले रुसका विभिन्न हवाई अड्डामा रहेका ४० वटाभन्दा बढी जहाजमा क्षति पुगेको जनाएको छ । ए–५०, ट्युपोलेभ टीयू–९५ र टियू–२५ जहाजहरू युक्रेनी ड्रोन हमलाबाट ध्वस्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरूले रुसका पाँच ठाउँका हवाई अड्डालाई लक्ष्य बनाएको बताएको छ । आक्रमणबाट मानवीय क्षति भने नभएको मन्त्रालयलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एपीका अनुसार युक्रेनले रुसी भूभागबाटै रुसमा हमला गरेको थियो । त्यसका लागि ड्रोनहरू तस्करी गरेर रुस पुर्‍याएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले भने आइतबार ११७ वटा ड्रोनले रुसी हवाई अड्डामा हमला गरिएको बताएका छन् ।

आइतबार रुसले युक्रेनको सैन्य इलाकालाई लक्ष्य गरेर हवाई आक्रमण गरेको थियो । जुन हमलामा १२ सैनिक मारिएका थिए । युक्रेनले त्यसको बदलामा रुसको हवाई अड्डालाई लक्ष्य बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?