कोटेश्वर, बल्खु र सिफलबाहेकका ठाउँमा विरोधका कार्यक्रम गर्न निषेध

लोकपथ
420
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाको शान्तिसुरक्षा तथा सार्वजनिक सेवालाई ध्यानमा राखेर तोकिएको ठाउँमा बाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न नपाउने गरी आदेश जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन जस्ता कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए ।

काठमाडौं प्रशासनले जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला/जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गर्दै उक्त आदेश जारी गरेको जनाएको छ ।

प्रजिअ तिवारीद्वारा आज जारी आदेशमा त्यस्ता कार्यक्रम आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासो आाएको तथा सार्वजनिक सम्पत्ति र समग्र शान्तिसुरक्षामा असर पर्न जाने अवस्था देखिएकाले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम जेठ १९ गतेदेखि लागू हुनेगरी तोकिएको स्थान बाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको उक्त आदेश आउँदो दुई महिनासम्म कायम रहने जनाइएको छ ।
­­

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?