प्रचण्डको आरोप : ‘बलात्कारी र हत्यारा राजाहरू नै हुन्’

लोकपथ
532
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले राजाहरू नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका छन् । योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरू नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका हुन् । 

उनले नारायणहिटी दरबार हत्याकाण्ड के हो भन्ने कुरा सबैलाई स्पष्ट रहेको बताए ।  नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरू नै भएको आरोप उनको छ । राजाहरूले नै मूर्ति चोरेर विदेशमा पुर्‍याउने गरेको आरोप लगाउँदै तस्करका नायिकेहरु तत्कालीन समयका राजा नै भएको बताए ।  

अध्यक्ष दाहालले भने, ‘जनताको मन मस्तिष्कमा त छ, नारायणहिटी दरबार हत्याकाण्ड के हो भन्ने कुरा । तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले । अनि एकथरी नयाँ युवाहरूलाई बिचरा थाहा छैन । उनीहरूलाई भर्खर शान्ति सम्झौतापछि जन्मिएर अब उमेर पुगेका, भोट हाल्ने भएका युवाहरूलाई त राजाले के गर्‍यो, नमिता, सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाइहरू र राजाहरूले नै गरेको भन्ने कुरा उनीहरूलाई थाहा छैन । त्यो तपाईँ हामीले भनिदिनुपर्ने हुन्छ जनतालाई । यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका । मूर्ति चोरेर विदेशमा पुर्‍याउने को हुन् ? भनिदिनुपर्‍यो जनतालाई । तस्करका नायिकेहरु को हुन्, भनिदिनुपर्‍यो जनतालाई । नारायणहिटी हत्याकाण्डका नायिकेहरु को हुन् ? भन्नेकुरा भनिदिनुपर्‍यो जनतालाई ।’ 

अध्यक्ष दाहालले स्वास्थ्यको क्षेत्रमा यो भएन, त्यो भएन भनेर बोल्ने कुनै नैतिक अधिकार राजावादीहरूलाई नभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?