अब बामे सरेर हुँदैन, ‘रकेट’को चालले विकास गर्छौँ : प्रधानमन्त्री ओली

लोकपथ
588
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरूमा भइरहेको ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका छन् । 

आइतबार मधेस प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । 

भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भए पनि विकास निर्माणमा ढिलाइ हुँदा आयोजनाको शतप्रतिशत मूल्य बढ्ने गरेको उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ती नियन्त्रणमा गम्भीर रहेको बताए । उनले यो समय प्रविधि र एआईको समय भएको उल्लेख गर्दै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने बताए । उनले विकास निर्माणका कामलाई रकेट चालमा सम्पन्न गर्न सरकार लागिपरेको समेत उनको दाबी छ । 

उनले भने, ‘भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती हो । भ्रष्टाचार गर्नेले  १० प्रतिशत गर्ला । तर ढिलासुस्ती गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ । एकातिर आयोजनाको मूल्य शत प्रतिशत बढ्छ अर्कोतिर हजारौँ प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ । त्यस कारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन । ढिलासुस्ती नियन्त्रणमा पनि सरकारको कडाइका साथ ध्यान जानेछ । यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामी चाहिँ बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुँदैन ।  त्यस कुरामा सरकारको ध्यान गएको छ ।’

उनले मधेस प्रदेश निर्माणाधीन क्रिकेट रङ्गशालाहरु सम्पन्न गर्नको लागि समेत सरकारले योजना बनाइरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?