जलवायु संकट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ : मन्त्री ठकुरी

लोकपथ
63
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु संकट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताएका छन् । 

नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार सानेपामा आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । 

उनले जलवायु परिवर्तनका कारणले घटेका घटनाहरूलाई स्पष्ट रूपमा सचेत गराएको बताउँदै अब प्रतीक्षा गर्ने समय नरहेको बताए । उनले हिमाल, पहाड र तराइ मधेससम्म जलवायु संकट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने अवस्थामा रहेको जिकिर गरे । 

उनले ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी दिए । मन्त्री ठकुरीले गत वर्ष थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौं उपत्यकामा वर्षाले निम्त्याएको बाढी पहिरो, जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोट जस्ता घटनाहरू जलवायु संकटका चेतावनी रहेको बताए  ।  

उनले भने, ‘मुलुक भरका हिमाल, पहाड र तराइ मधेससम्म जलवायु संकट प्रत्यक्ष देखिँदैछ र भविष्यमा अझै यो भयावह हुने अवस्थामा छ । हिमालहरू खतरामा छन् । ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा छन् । सगरमाथाको क्षेत्रमा थामेमा गत वर्ष हिमताल विस्फोटले पारेको क्षतिको एक महिना अघि म आफैँ गएर हेर्ने मौका पाएको थिए । दोधार चाँदनीमा भएको वर्षात्, काठमाडौं उपत्यकामा आएको वर्षातले निम्त्याएको बाढी,पहिरो र डुबान र जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा गएको विस्फोटजन्य तालको कारणले भएको बाढी पहिरो यी सबै जलवायु सङ्कटका चेतावनी हुन् । यी घटनाहरूले हामीलाई स्पष्ट रूपमा सचेत गराउँछन् कि अब प्रतीक्षा गर्ने समय छैन । जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको छ ।’ जलवायु संकटले मानव स्वास्थ्यमा मात्र नभएर खाद्य सुरक्षालाई नै खतरामा पार्दै गइरहेको बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?