जो महिला भिजिट भिसामा खाडी पुगे, तर…

सन्तानका लागि देश छोड्दै आमा, फर्कँदा परिवार र सन्तान नै विखण्डनमा

काठमाडौं । घरबाट निस्कने बेला उनले आफ्नो ३ वर्षीय छोरोलाई अँगालो हालेर भनिन्, ‘हजुरआमालाई नपिरी बस्नु है बाबु…।

छोराले ‘हस्’ त भन्यो तर आमाको घाँटीमा झुण्डिरह्यो । आफ्नो अङ्गालोबाट जबरजस्ती छोरो छुटाएर हिँडेकी करिना लामिछानेले छोराको चिच्याहट सुनिरहिन् तर फर्किएर हेर्न सकिनन् । वैदेशिक रोजगारीमा जानुअघि काठमाडौंमा आएर सीप सिकिरहेकी करिनाका आँखा छोरा सम्झिएर रसाइरहन्छन् ।

यता, मोरङकी वर्षा राईका ९ वर्षीय छोरीले हात हल्लाएर आमालाई बिदाइ गरिन् । उनकी छोरीले भनेकी थिइन् ‘मामु नरोईकन जानु है ।

गाउँ छोडेर हिँड्नु अघि वर्षाले थुप्रै पटक झम्टिएर छोरीलाई अङ्गालोमा बेर्न खोजिन्, तर, सकिनन् । छोरीकै भविष्य सोचेर देश छोड्न हिँडेकी वर्षा र छोराको भविष्य बनाउन हिँडेकी करिना काठमाडौंको एउटै तालिम केन्द्रमा भेटिएका दुई आमा हुन् ।

देश छोड्ने तयारीमा रहेकी करिना र वर्षा जस्तै थुप्रै आमाहरू काखे सन्तान छोडेर देश छोड्ने तयारीमा छन् । देश छोडेर प्लेन चढिरहेका आमाहरूको सङ्ख्या पनि उस्तै छ ।

वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्यांक अनुसार, वैदेशिक रोजगारीमा जाने महिलामध्ये २४-३४ वर्षका ५२.३%, १८-२४ वर्षका ३२.३% र ३५-४४ वर्षका १४.६% छन् । आर्थिक वर्ष २०७८।०७९ मा ४९ हजार महिला विदेश गएका थिए भने २०७९।८० मा ७२ हजार र २०८०।८१ मा यो सङ्ख्या ८० हजार पुगेको छ ।

बिदेसिएका ८० हजार महिला मध्ये कति महिला आमा थिए भन्ने बेग्लै तथ्यांक भने नेपाल सरकार सँग छैन । कति नेपाली महिला आफ्ना सन्तान छोडेर श्रमका लागि बिदेसिएका छन् भन्ने प्रश्नमा अध्यागमन कर्मचारी भन्छन्, ‘हामीसँग आमाहरूको बेग्लै तथ्यांक नै छैन ।

सरकारी तथ्यांकमा नसमेटिए पनि आफ्ना काखे सन्तान छोडेर विदेशी श्रम बजारमा जाने आमाहरूको सङ्ख्या ठुलो छ । तिनै मध्येकी एक हुन्, झापाकी रिता तामाङ ।

देश छोडेर बिरानो मुलुकतिर लाग्दै गर्दाको अत्यास, आँखामा केही सपना, सन्तानको मायाले भारी भएको मन र टिलपिलाइरहेका आँखा । यस्तै-यस्तै थुप्रै त्रास र सम्भावनाका धर्सा प्रस्टै देखिन्थे काठमाडौंको गौशाला नजिकै भेटिएकी झापाकी ३४ वर्षीय रिता तामाङको अनुहारमा ।

सानैमा विवाह बन्धनमा बाँधिएकी रिता १० वर्षीय छोरीलाई नेपालमै छोडेर परदेश हिँडेकी हुन् । ५ कक्षासम्म पढेकी रिताले समुद्रपारिको रोजगारीमा किन भन्ने प्रश्नमा भनिन्, ‘यो मेरो बाध्यता हो । छोरी हुर्किँदै छे, उसलाई मेरो जरुरी पर्छ, तर गरिबीले बिदेसिने बनायो ।

जन्मिएकै देशमा सुकुम्वासी बाँचिरहेका थिए रिता र उनका श्रीमान् । अनि ज्याला मजदुरी गरेर दैनिकी चलाइरहेका । छोरी हुर्कँदै गएपछि उनीहरूलाई लाग्यो, ‘यहाँको दुःखले छोरीलाई राम्रो शिक्षा दिन सकिँदैन ।‘ त्यसपछि रिताका श्रीमान् विदेश जाने तयारीमा लागे । तर, उनको छातीमा दाग देखियो । श्रीमान् जान नमिलेपछि रिता आफैँ परदेशको बाटो समाउने निर्णयमा पुगिन् । ‘नेपालको कमाइले खान पनि पुग्दैन‘ पीडा भन्दा ज्यादा विवशता झल्किने स्वरमा रिताले भनिन्, ‘छोरीको भविष्य बनाउने हो भने बिदेसिनुको विकल्प देखिनँ ।

बाराकी ३२ वर्षीय कमली विश्वकर्मा श्रीमानको अवहेलना सहन नसकेर दुई सन्तान छोडेर विदेश लागिन् । नेपाल सरकारले प्रतिबन्ध लगाएको खाँडी मुलुकमा श्रमका लागि पुगेकी उनले रोजगारदाताबाट पनि हिंसा भोग्नु पर्‍यो । त्यहाँबाट फर्किएर आउँदा उनीबाट सन्तान टाढा भैसकेका थिए । देश फर्किएपछि श्रीमानसँगको सम्बन्ध पनि बाँकी रहेन । श्रीमानसँग पारपाचुके गरेर बसेकी कमली आफ्ना सन्तानको पिरमा भौँतारिरहेका छिन् । भन्छिन्, ‘सन्तान छोडी हिँड्नुको बाध्यता उनीहरूलाई बुझाउनै पाइन ।‘ बुझ्ने भएपछि सन्तानले आमा खोज्दै आउलान् भन्ने आसमा कमली हिजोआज दिन गुजारिरहेकी छिन् ।

आमा बनेर वैदेशिक श्रम बजारमा पुगेका अधिकांश महिला नेपाल सरकारले श्रमका लागि प्रतिबन्ध लगाएको खाडी मुलुकमा पुगेका छन् । अध्यागमन विभागको पछिल्लो ६ वर्षको तथ्यांक अनुसार कुल २ लाख ८० हजार ९९० नेपाली महिलाले रोजगारीकै लागि देश छोडेको देखिन्छ । यही अवधिमा १ लाख १ हजार १५५ जना महिलाले भिजिट भिसा लिएर नेपाल सरकारले श्रमका लागि प्रतिबन्ध लगाएका मुलुक प्रस्थान गरेका छन् । यसरी भिजिट भिसामा प्रतिबन्धित मुलुक पुगेका कति महिला भिसा सकिएकै अवधिमा फर्किए, कति उतै बसे भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन ।

विदेश जाने आमाहरूका लागि सन्तान छोड्नु सजिलो हुँदैन । छोराछोरीलाई छात्रावास, हजुरआमा, वा आफन्तको भरमा छोडेर हिँडेका आमाहरूमा गहिरो भावनात्मक असर पर्ने र आमाको अभावले बच्चामा पनि असुरक्षा, एक्लोपना र व्यवहारिक समस्याहरूमा अल्झिने समाज शास्त्री निर्मला ढकाल बताउँछिन् ।

समाज शास्त्री ढकालका अनुसार आमा घरबाट निस्कँदा त्यसको असर परिवारको संरचनामा प्रत्यक्ष देखिन्छ । ‘बच्चाको पालनपोषण, अनुशासन, मनोवैज्ञानिक विकासमा आमाले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा उनको अनुपस्थितिले परिवार असन्तुलित बन्छ‘ ढकाल भन्छिन्, ‘बच्चाको सामाजिकीकरण प्रक्रियामा पहिलो गुरु आमा नै हुन् । जब आमा टाढा जान बाध्य हुन्छिन्, त्यो बच्चाको समाजसँगको अन्तरक्रिया, व्यवहार र आचरण विकासमा प्रभाव पर्छ । कतिपय अवस्थामा उनीहरू आत्म केन्द्रित, असहिष्णु र असुरक्षित हुने खतरा हुन्छ ।

आमाले छोडेका बच्चाहरू छात्रावास, आफन्त वा छिमेकीको भरोसामा हुर्किन्छन् । यसरी हुर्किएका कतिपय बालबालिकाले आफूलाई अस्वीकार गरिएको महसुस गर्ने र दीर्घकालीन मनोवैज्ञानिक असर गर्न सक्ने ढकाल बताउँछिन् ।

महिला परदेशिनु आफैँमा सामाजिक परिवर्तन हो । महिलाले श्रम बजारमा सहभागिता बढाउनुलाई महिला अधिकारका दृष्टिले हेर्दा सकारात्मक देखिन्छ । तर, सन्तान छोडेर सन्तानकै भविष्यका लागि हिँडेका नेपाली महिलाको त्यागलाई स्वीकार गर्न सक्ने अवस्थामा नेपाली समाज अझै पुग्न नसकेको अधिवक्ता तथा अधिकारकर्मी मोहना अन्सारी बताउँछिन् । जसले गर्दा वैदेशिक रोजगारीबाट फर्किएपछि महिलालाई पुनर्स्थापित हुन् गाह्रो रहेको अन्सारीको तर्क छ ।

महिला पुनर्स्थापनाका क्षेत्रमा काम गरिरहेको ओरेक नेपालको एक सर्वेक्षणमा पनि महिलाहरूले वैदेशिक रोजगारीबाट फर्किएपछि पुनर्स्थापनामा कठिनाइ हुने गरेको बताएका छिन् । कतिपयले परिवार र आफ्ना बच्चाहरूसँगको सम्बन्ध समेत बिग्रिएको उल्लेख गरेका थिए । आमा नहुँदा थुप्रै घरहरू लथालिङ्ग भएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा बताउँछिन् । राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगरेको प्रति थापा दुःखी छिन् ।

आमाले सन्तान छाडेर जानुलाई गर्वका रूपमा हेर्न नसकिने अमकास नेपालकी अध्यक्ष विजया राई श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘सामाजिक, आर्थिक, राजनीतिक पक्षहरूले महिलालाई घर छोड्न बाध्य पारेको छ । धेरै महिला हिंसा, गरिबी, पारिवारिक दबाबले घर छाडेर बिदेसिएका छन् । सरकारले आमाको कमाइ देशको समृद्धिको मेरुदण्ड बनाउने सपना देखिरहेको छ, तर ती आमाको पीडालाई सम्बोधन गर्ने आँट देखाएको छैन ।

काखे सन्तान छोडेर बिदेसिएका आमा को कथा केवल व्यक्तिगत पीडा होइन, सामाजिक संकट पनि हो । राज्यले उद्यमशील नीतिहरू ल्याएर महिलाहरूलाई स्वदेशमै रोजगारीको अवसर दिनुपर्ने लिली थापा बताउँछिन् । थापा भन्छिन्, ‘यस्ता परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याएर आमा-सन्तान छुट्टिनु नपर्ने व्यवस्था गर्न सकिन्छ ।’ उनले अगाडि भनिन्, ‘आखिर, आमाको काखभन्दा ठुलो कुनै पाठशाला अरू हुँदैन, काखे सन्तानको मायाभन्दा गहिरो कुनै सम्बन्ध पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?