…अनि कमल थापालाई प्रहरीले घिसार्दै भ्यानमा हाल्यो

लोकपथ
721
Shares

काठमाडौं । नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले जेठ १५ गतेबाट निर्णायक आन्दोलन सुरु गर्यो ।

बिहीबार, शुक्रबार र शनिबारको आन्दोलन केही शान्त देखिए पनि आइतबार भने प्रदर्शनमा केही गडबढी हुन पुग्यो । बिहीबार शान्तिबाटिकाबाट सुरु भएको प्रदर्शन माइतीघर, बालुवाटार क्षेत्र हुँदै आज नक्साल नारायणचौरमा आयोजना गरिएको थियो ।

यसअघिका प्रदर्शनका क्रममा घुसपैठ भएको आरोपमा केही व्यक्तिहरुलाई प्रकाउ गरिएको थियो । तर आजको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष समेत रहेका कमल थापासहित केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्साल नारायणचौरबाट बालुवाटारको निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले थापासहित केही व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

थापाले भीडलाई उक्साएर थप उत्तेजित पार्न खोजेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।

‘उहाँले भीडलाई उत्तेजित पारेर भड्काउन खोजेपछि हामीले नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।

सो क्रममा प्रहरीले थापालाई घेरा हालेर केहीबेर घिसार्दै भ्यानसम्म पुर्याएको थियो । प्रहरीको पञ्जाबाट भाग्न खोजेपछि उनलाई प्रहरीले बल प्रयोग गरी भ्यानमा हालेको थियो । थापालाई प्रहरीले गाडीमा हालिसकेपछि सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

सरकारलाई लिङ्देनको चेतावनी

यता कमल थापासहित केही व्यक्तिहरु पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बिनासर्त रिहाइको माग गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरुलाई जहाँबाट समात्यो, त्यहीँ ल्याएर नछाडेमा देशभरबाट आह्वान गरेर आन्दोलन चर्काउने चेतावनी दिए । साथै भोलिबाट आन्दोलनलाई थप चर्को बनाउने उनले चेतावनी दिएका छन् ।

थापा पक्राउ परेपछि उनले भनेका छन्, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?