काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेको नेताहरुलाई तत्काल छाड्न सरकारलाई चेतावनी दिएका छन् ।
आज राजावादीहरुको प्रदर्शनका क्रममा कमल थापासहित राजावादीहरु पक्राउ परेसँगै लिङ्देनले सो चेतावनी दिएका हुन् ।
नक्सालचौरबाट बालुवाटारको निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले थापासहित केही आन्दोलनकारीलाई पक्राउ गरेको छ ।
कमल थापा पक्राउ परेपछि उनले भनेका छन्, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’
त्यस्तै नेताहरुलाई रिहाइ नगरे एक ठाउँबाट मात्र नभए ठाउँठाउँबाट विरोधमा निस्कने समेत बताए ।
‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ तपाईं ?,’ उनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’
बिहीबारबाट नवराज सुवेदीको नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन परिचालन समितिले राजतन्त्र पुनस्थापनाको मागसहित आन्दोलन सुरु गरेको थियो । तीन दिनको आन्दोलन शान्तपूर्ण भए पनि आजको आन्दोलन भने निषेधित क्षेत्र तोड्न खोजेपछि भड्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया