काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति गरेको टिप्पणीप्रति यतिबेला आलोचना भइरहेको छ ।
शनिबार प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले आफू बाहेक सबैलाई मासेर आएको टिप्पणी गरेका थिए ।
‘राष्ट्रिय एकता भन्ने बित्तिकै केही केही यस्ता खालका चाटुकारहरू निस्किए अहिले । अहिले आएर यति बेला पृथ्वी पथ अरे । पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि । त्यही हो क्यार । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकताबद्ध बनाउनु छ । पृथ्वीपथले एकताबद्ध ? मारकाट गरेर एकताबद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । एकीकरणको समय एउटा होला । एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वी पथ । पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ? संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वी पथ । कति पुरातनपन्थी हो ? यो पृथ्वी पथ भनेको सुनेपछि अर्काले भन्छ, राजर्षि जनक पथ, यलम्वर पथ, मानदेव पथ, अंशुवर्मा पथ, चल्लपथ, मल्लपथ । यी चल्लपथ, मल्लपथ, के जाति पथ, इतिहासका पथ हुन् की आजका आवश्यकताअनुसारका ? आजका विचार अनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने की ढाइ सय वर्ष अगाडिका, आज असान्दर्भिक भएका, त्यति बेलाका महत्त्वपूर्ण कुरा होलान् । आज तिनले बाटो देखाउन सक्दैनन् । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिन्छ । विषयानगरजीको एक सुका खोजेर राष्ट्र बलियो बनाउँछु भन्ने कुराले हुन्छ । त्यति बेला भयो होला । आज हरेकले उद्यमशीलतामा जान जरुरी छ । हामी उद्यमशीलताका कुरा गरिरहेका छौँ । अब विषयनगर जी । हामी राष्ट्रका कुरा गर्दैछौँ । पृथ्वीनारायण शाहले आफू बाहेक अरूलाई त मास्ने कुरा गर्थे त । मासेको होइन । अनि पृथ्वीनारायण शाहपछि पनि अनेक रजौटाहरु मासेको होइन । आज त राष्ट्र जोगाउनु र एकताबद्ध बनाउन जरुरी छ । त्यति बेला मास्नु र एकीकरण गर्नु थियो । अनि उद्देश्य, विचार, समय, परिस्थिति मिल्छ ? केके न ल्याएँ भनेर पृथ्वी पथ । १३ औँ सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वी पथ । राजा हुने युक्ति अहिले पनि । आजको समय राजा, रजौटा, तानाशाहहरुको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकरणको समय हो । हामी त्यतै जाँदैछौँ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।
प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति कटाक्ष गर्दै कांग्रेस नेता शंकर भण्डारीले त्यस विषयलाई सत्ता समीकरणसँग समेत जोडेर हेरेका छन् ।
नेपाली कांग्रेसभित्र हिन्दूराज्यको मुद्दा प्रखर रुपमा उठाइरहेका पूर्वमन्त्री समेत रहेका भण्डारीले कांग्रेसले प्रधानमन्त्रीलाई अझै काँधमा बोकेर हिँडिरहनु जरुरी नरहेको बताए ।
‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसलाई काँध थापिरहन सक्दैन । यस विषयमा पार्टीले गम्भीर भएर सोच्नु पर्ने समय आईसकेको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
त्यसो प्रधानमन्त्री ओलीले यसअघि पनि पृथ्वीनारायण शाहको पाला भन्दा अघि देखि नै नेपाल एकीकरणको दिशामा अघि बढेको दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया