काठमाडौं । साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ ।
आइतबार दिउँसो रसिकको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भोजपुरको, छिनामखुमा विसं २००४ मा जन्मिएका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित रहेका थिए । नियमित किमोथेरापी गराउँदै आएका उनको आज निधन भएको हो ।
रसिकको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिनेछ । उनको छोरी भोलि मात्रै नेपाल आइपुग्ने भएकाले त्रिवि शिक्षण अस्पतालमा शव राखिने र छोरी आएपछि अन्तिम संस्कार गरिनेछ ।
रसिक बहुआयामिक प्रतिभाका धनी थिए । उनले लेखेका कतिपय गीतहरु आम नेपालीको जनजिब्रोमा झुण्डिएको छ ।
‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ लगायत रसिकका कालजयी गीतहरु हुन् ।
त्यस्तै कथा संग्रह, उपन्यास, गीत संग्रह लगायत थुप्रै साहित्यिक रचनाहरु रहेका छन् ।
उनका ‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका चर्चित कृतिहरु हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया