पहिराेले उदयपुरका ग्रामीण सडक अवरुद्ध

लोकपथ
182
Shares
फाइल तस्बिर

उदयपुर ।  जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताए ।

शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय  पहिराले पुरिएका उनले बताए । रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगरले बताए। रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्य राज मगरले बताए ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझ खर्कका जम्बु शेर्पाले बताए । मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बास बोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ । 

उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुर गढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गङ्गा मगरले बताए । बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ । शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?