अमेरिकी युद्ध विरामको प्रस्तावमा हमासले राख्यो चार सर्त

लोकपथ
1.5k
Shares
फाइल फोटो

एजेन्सी । गाजाका लागि प्रस्तावित ६० दिनको युद्ध विराममा सहमतिका लागि हमासले विभिन्न सर्तहरूअघि सारेको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले अगुवाइ गरेको प्रस्तावमा हमासले चार प्रमुख सर्त राख्दै सहमत हुने संकेत दिएको हो।

इजरायलले यस युद्ध विराम प्रस्ताव स्वीकार गरिसकेको छ। प्रस्तावमा २८ जना इसराइली बन्धकको रिहाइ र इजरायली जेलमा रहेका १,२०० प्यालेस्टिनी बन्दीहरूको मुक्तिको व्यवस्था रहेको छ।

तर, हमासले आफ्नो तर्फबाट दस जना जीवित बन्धक र १८ जना मृतकको शव हस्तान्तरण गर्ने प्रस्ताव अघि सारेको छ। साथै, बन्धकको रिहाइ तीन चरणमा हुनुपर्ने माग पनि राखिएको छ।

युद्ध विरामका लागि हमासले गाजबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने र स्थायी युद्ध अन्त्यको सुनिश्चितता हुनुपर्ने स्पष्ट पारेको छ। साथै, गाजामा लामो समयदेखि रोकिएको मानवीय सहायता पनि सुनिश्चित गर्नुपर्ने हमासको सर्त रहेको छ।

हमासका वरिष्ठ अधिकारी खलील अल-हय्याले युद्ध विराम सकारात्मक कदम भए पनि स्टिभ विटकोफले इजरायलको पक्षपाती भूमिका खेलेको आरोप लगाए। उनले इजरायलले यी सर्तहरू मान्न तयार भए मात्रै हमासले सहमति जनाउने स्पष्ट पारे।

तर, इसरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमास तयार नभए गाजामा सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन्। ‘हामी बन्धकहरूलाई फर्काउनेछौँ र हमासको अन्त्य गर्नेछौँ,’ उनले भने।

दूत स्टिभ विटकोफले भने हमासका सर्तहरू अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन्। ‘यी प्रस्तावले हामीलाई पछाडि लैजान्छ। हमासले वार्ताअनुसारको प्रस्ताव स्वीकार गर्नुपर्छ। अब युद्ध विराम र बन्धक रिहा प्रक्रिया अगाडि बढ्नुपर्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?