काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरू हट्ने बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छौँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरू हराउने दाबी गरे । उनले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताए । राजनीतिक दलहरूका नेताहरूले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठुलो समस्या रहेको बताए ।
महामन्त्री थापाले भने, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्यौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरूमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठुलो समस्या यही हो । नेपालका ठूला पार्टीका ठूला नेताहरूले रेस्पेक्ट गर्छु म उहाँहरूलाई । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’
महामन्त्री थापाले शीर्ष नेताहरूले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया