काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पुँजीको अभावका कारण आईपीओको पर्खाइमा रहेका ५६ वटा आईपीओहरु आएन भने सरकारले लिएको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पुँजीको अभावले २३ महिनादेखि झन्डै ५६ वटा आयोजनाहरू आईपीओको पखाइमा रहेको बताए ।
उनले समयमै आईपीओ नआए सरकारले लिइको विद्युत् उत्पादनको लक्ष्य (२८ हजार ५ सय मेगावाट) पूरा हुन नसक्ने जिकिर गरे । बजेटमा धेरै राम्रा कुराहरू आए पनि ऊर्जा क्षेत्र अघि बढ्न नसक्ने हो कि भन्ने शंका रहेको बताए ।
उनले भने, ‘पुँजीको अभावले अहिले झन्डै ५६ वटा आयोजनाहरू आईपीओको पर्खाइमा छन् । २३ महिना भन्दा लामो समयदेखि पखाइमा छन् । साँच्चै नै त्यो समयमा आइदिएन भने यो लक्ष्य पूरा हुन सक्नेछैन । जतिसुकै राम्रो कुरा आए पनि ऊर्जा क्षेत्र अघि नबढ्ने हो की भन्ने कुरा छ । खपतको आधारमा पिपिए गर्दै जाने भनिसकेपछि नेपालमा कति खपत हो । हामी त १५ सय मेगावाट उत्पादन गरेर लोड सेडिङ मुक्त देश हो की भन्ने लागिरहेका छौँ । थुप्रै इण्डस्ट्रीले बिजुली पाएन भनिरहेका छन् । हामी बिजुली धेरै भयो भनिरहेका छौँ । रन अफ द रिभर (आरओआर) प्रोजेक्टहरूलाई टेक एण्ड पेमा पिपिए गर्ने भनिसकेपछि आजको डेटा हेर्दा र नेपाल सरकारको उद्देश्य हेर्दा फरक खालको हो की भन्ने लाग्छ ।’
अध्यक्ष कार्कीले झन्डै १७ हजार मेगावाट भन्दा बढीका आयोजनाहरू रन अफ द रिभरका रहेको जिकिर गरे । यसमा करिब ६६ खर्ब लगानी भइसकेको बताए । चाहेको बेलामा मात्रै बिजुली किनिदिने हो भने बैंकले लगानी नगर्ने जस्तो अवस्था देखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया